१९ असार २०८३, शुक्रबार
,
Latest
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानबालीमा गवारो र डडुवा रोगले किसान चिन्तित



अ+ अ-

विराटनगर । धान यो वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । सुनसरी चाँदबेलाका किसान देबनारायण चौधरी यो वर्ष धानको उत्पादन बढ्ने देखेर खुशी थिए । तर गाँज बढिरहेको बेलामा रोग देखिएपछि उहाँलाई चिन्ता परेको छ ।

“केही दिनअघिसम्म खेतमा लगाएको धान राम्रो थियो । अहिले गाँज बढिरहेको बेलामा केही ठाउँको धानमा गुवो काटिएको देखिएको छ”, उहाँले भन्नुभयो, “हामीलाई कीटनाशक औषधि र प्राविधिकको खाँचो छ ।” 

चौधरी मात्र होइन, पूर्वका सुनसरी, मोरङ र झापाका धेरै किसान  अहिले धानमा रोग देखिएपछि चिन्तित भएका छन् । अहिले गुणस्तरीय बिउ, प्रांगारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा किसान समस्यामा आएको चौधरीको भनाइ छ । गाँज बढिरहेको बेलामा धानबालीमा गवारो र डढुवा नामको रोग देखिएको हो । गवारो रोगका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् । 
    
कृषि विकास निर्देशनालय विराटनगरका अनुसार अहिले पूर्वका सुनसरी, मोरङ र झापाका किसानले लगाएको धानबालीमा गवारो र डढुवा रोग लागेको देखिएको छ । यसप्रति तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ । 

खेतमा गुवो काटिएको देखिपछि कुन विषादी प्रयोग गर्ने हो, त्यसको सल्लाह र सुझाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि किसानलाई समस्या बनाएको छ । कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले धानबालीमा देखिएको यो रोग नियन्त्रणका लागि किसानले गवारो माउ पुतली र फुलको थुप्राहरु पहिचान गरी त्यसलाई नष्ट गर्नुपर्ने, प्रकाश÷उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नुपर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नुपर्ने, ट्राकोग्राम परजीवीहरुको प्रयोग गर्नुपर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खलबलिन नदिने गरी रासायनिक विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो । 

धानको गाँज बढिरहेको बेलामा गुवो खाइदिने समस्या भएपछि किसानहरु अहिले मर्माहत बनेका छन् । लामो सयमपछि यसवर्ष पूर्व क्षेत्रमा ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । कार्यालय अनुसार गएको वर्षमा यस क्षेत्रमा ५६ दशमलव ७४ प्रतिशत अर्थात एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा मात्र धानबाली लगाइएको थियो भने यसवर्ष तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान खेती भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताउनुभयो ।

बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्राविधिकलाई फिल्डमा निस्कन समस्या परेको बताइएको छ । “अहिले कोरोना सङ्क्रमणको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत छैन”, प्राविधिकहरु भन्छन्, “भ्याएसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौं ।” समयमै रोपाइँ गरेको र पानी पनि पर्याप्त भएको हुँदा यसपालि राम्रो उत्पादन लिने आसमा रहेका किसान अहिले किराले बिरुवा सखाप पार्नथालेपछि बिलखबन्द छन् । रोग नियन्त्रणका लागि सरकारले तत्काल पहलकदमी लिनुपर्ने माग किसानको छ ।