२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति



अ+ अ-

गोरखा । मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।

गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताउनुभयो । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्‍यो । गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर खेतमा सुकाएका छन्”, उहाँले भन्नुभयो, “धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो । अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । नकाटेकाहरूको पनि पानीले बाला झारेको छ ।” बेमौसमी वर्षात्का कारण वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको उहाँको भनाइ छ ।

बेमौसमी वर्षाले जिल्लाको धानबालीमा क्षति पुर्‍याएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । उहाँका अनुसार यतिबेला जिल्लाका १० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् भने करिब ४० प्रतिशतले धान काटिसकेका र ५० प्रतिशत किसान काट्ने तयारीमा छन् । वर्षाले विशेषगरी काटेर खेतमा सुकाएको धानबालीमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।

“यो यामको मुख्य बाली धान हो । किसानहरू यतिबेला धान भित्र्याउने काममा व्यस्त छन् । यस्तो अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई असहजता भएको छ”, बस्ताकोटीले भन्नुभयो, “अहिलेसम्मको अवस्था हेर्दा गोरखामा भारी वर्षा भएको छैन । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई–तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिन्छ ।” वर्षा नरोकि पाक्दै गरेका र काटेर सुकाएका धानलाई समस्या नहुने भन्दै उहाँले थप वर्षा भएमा धान झर्ने समस्या हुनसक्नबताउनुभयो ।

जिल्लामा धानखेती हुने १० हजार १४० हेक्टरमध्ये गत वर्ष नौ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यस वर्ष क्षेत्रफल घटेर आठ हजार ५६५ हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ३९ हजार ९०० मेक्ट्रिकटन धान उत्पादन भएकामा खडेरी र बाँझोपनका कारण यस वर्ष घट्ने अनुमान कृषि प्राविधिकले गरेका छन् ।

बेमौसमी वर्षात्का कारण पनि यो वर्ष धानको उत्पादन घट्नसक्ने केन्द्रका प्रमुख बस्ताकोटीले बताउनुभयो । गोरखामा रामधान, सावित्री, सुख्खा–२ लगायत उन्नत जातका र हाइब्रिडमा च्याम्पियन, युएस–३१२ धान रोपाइँ हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केहीले स्थानीय जातका धानका बिउ पनि रोपेका छन् ।

जिल्लाको दरौँदीफाँट, सिर्दीफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँटलगायत स्थानमा धान उत्पादन बढी हुने कृषि केन्द्रले जनाएको छ । जिल्लाको तल्लो भेगमा वर्षात् र माथिल्लो भेगमा भारी हिमपात भएको छ । उत्तरी गोरखाका विभिन्न गाउँबस्तीमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुव्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले यहाँका नागरिक घरभित्रै आगो तापेर बसिरहेका छन् । चौरीहरू पनि भित्रकोभित्रै छन् ।” उहाँका अनुसार यस वडाको तीन हजार मिटर भन्दा माथिको उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् ।

त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायत गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा पर्ने लार्केपासमा गएका पर्यटकहरू फर्किएका छन् भने कतिपय सामागाउँ, साम्दोमा रोकिएका स्थानीयले बताएका छन् ।

वर्षाले हालसम्म जिल्लाको कुनैपनि सडकखण्ड अवरुद्ध नगराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।  रासस