काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि भएको अनुसन्धानबाट नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएको आयोगले जनाएको छ । विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ।
अख्तियारमा उजुरी परी अनुसन्धानबाट ठहर भएकामध्ये प्राथमिक र निम्नमाध्यमिक विद्यालय र लब्धांकपत्र नक्कली भेटिने गरेको हुन्। जागिर खाइरहेका र कतिपय जागिरबाट निस्केका समेतको नक्कली प्रमाणपत्र भेटिने गरेको छ।
सरकारी र सामुदायिक विद्यालयमा काम गर्ने धेरै शिक्षकहरूको योग्यता नक्कली प्रमाणपत्रमा निर्भर रहेको पनि आयोगले जनाएको छ । जसका कारण तलब, भत्ता, पेन्सन—सबै राज्यको पैसाको चरम दुरुपयोग भएको छ ।
यस्तै मध्ये एक हुन् भोजपुरको वासिङ्थर्पु ५ का तत्कालीन शिक्षक गणेशप्रसाद पराजुली । पराजुलीले पन्चकन्या प्राथमिक बिद्यालयका शिक्षक एबं केही समय प्राध्यापकको जिम्मेवारी निर्वाह गरेका ३८ बर्ष ३ महिना १९ दिन जागिर खानुभयो तर उहाँको योग्यता नक्कली भएको भन्दै आयोगले अनुसन्धान गरिहेको जनाईएको छ ।
सरकारी सेवामा प्रवेश गर्न तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखिएको हो । सरकारी कार्यालय, संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरूले अनुचित लाभ लिने उद्देश्यले सुरू नियुक्ति र बढुवाका लागि पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान गर्दै आएको छ ।
आयोगले गत आर्थिक वर्ष २०८०र०८१ मा ३४ जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) मा कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुटा विवरण दिएमा वा सो सम्बन्धी झुटा प्रमाणपत्र पेस गरेमा निजलाई कसुरको मात्रा अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।













