काठमाडौँ । क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ ।
२७ वर्षीय थापाको आज बिहान विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगर बासिन्दा हुन् ।
विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत्यु घोषणा गरे । थापा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेलिरहेका थिए । उनको निधनमा क्यान सचिव पारस खड्का, बिपिएल खेल्न बंगलादेश गएका सन्दीप लामिछाने लगायतले श्रद्धाञ्जली दिएका छन् ।












