काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालकी अध्यक्ष ईनु पौडेलले महासंघको नाममा भइरहेको भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले पूर्व अध्यक्ष हरिभक्त पराजुलीले आफू अझै अध्यक्ष रहेको भनी भ्रम फैलाएको दाबी गर्नुभयो ।
पूर्व अध्यक्ष पराजुलीले विभिन्न जिल्ला, प्रदेश, सरकारी तथा गैरसरकारी निकायहरूमा आफू नै अध्यक्ष भएको दाबी गर्दै पत्राचार र प्रचार गरिरहेको सूचना प्राप्त भएको उल्लेख गर्दे कसैलाई पनि भ्रममा नपर्न आग्रह अध्यक्ष पौडेलले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो ‘श्री हरिभक्त पराजुली हाल साना तथा मझौला व्यवसायी महासंघ नेपालको कुनै पनि पद वा जिम्मेवारीमा रहनुभएको छैन । उहाँसँग महासंघको तर्फबाट कुनै पनि कानुनी, आर्थिक, प्रशासनिक वा संस्थागत अधिकार छैन ।’
महासंघले आफ्नो विधान र प्रचलित कानुनअनुसार संस्थागत मर्यादा र पारदर्शिता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ । विधानविपरीतका कार्यहरू जारी रहेमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने चेतावनी समेत महासंघले दिएको छ ।
महासंघले स्पष्ट पारेको छ कि यदि पराजुलीले महासंघको लेटरहेड, छाप वा पहिचान प्रयोग गरी कुनै गतिविधि गरेमा त्यसको जिम्मेवार उहाँ स्वयं हुनुपर्ने छ र संस्थाले त्यसको अपनत्व लिने छैन ।
देशको वर्तमान आर्थिक अवस्था र साना व्यवसायीको भूमिकाबारे चर्चा गर्दै अध्यक्ष पौडेलले नेपालका ८० प्रतिशतभन्दा बढी व्यवसायीहरू साना तथा मझौला क्षेत्रमा आबद्ध रहेको बताउनुभयो ।
‘नेपालको अर्थतन्त्र महलले होइन, झुपडीले टिकेको छ,’ उहाँले भन्नुभयो, ‘दुई तिहाइभन्दा बढी रोजगारी र उत्पादनको क्षेत्र सम्हालिरहेका साना व्यवसायीको संरक्षण गर्नु नै देशको भविष्य सुरक्षित गर्नु हो ।’ पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको समेत उपस्थिति थियो ।












