काठमाडौँ: गत भदौमा भएको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको मिति तोकेको छ । सो निर्वाचनका लागि यता सरकार र अरु दलहरु अन्तिम तयारीमा रहेको भनिरहेका बेला नेपालका नेताहरुको भने एकाएक दिल्ली दौड सुरु भएको छ ।
नेपालमा चुनावी सरगर्मी बढ्दै जाँदा कुनै न कुनै कार्यक्रमको बहानामा नेताहरु भारतको राजधानी नयाँ दिल्लीको यात्रामा निस्किनु रहस्यमयी छ । नेपाली नेताहरुको एकपछि अर्को दिल्ली दौडले दिल्लीमा केही राजनीति पाक्दै त छैन भन्ने विगतमा झैं अड्कलबाजीहरु नेपालमा चल्न थालेका छन् ।
दिल्ली दौडको पहिलो खाता नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खोलेका हुन् । उनी मंसिरको पहिलो हप्ता दिल्ली पुगेर आए, तर त्यसको प्रचार भएन । डा कोइरालाले दिल्लीमा सत्तापक्ष भारतीय जनता पार्टीका केही नेतासँग भेटवार्ता गरेका थिए । उनी दिल्ली पुगेर आएपछि संसद पुनर्स्थापना भए पनि कांग्रेसलाइ मान्य हुने प्रतिक्रिया दिए । जेनजी विद्रोहका कारण सत्ताबाट एकाएक बिमुख भएको एमाले पनि संसद पुनर्स्थापनाकै पक्षमा देखियो ।
त्यतिमात्र होइन, कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेर कुरा राख्ने गरेकामा डा कोइराला एकाएक युटर्न भए । उनले कांग्रेसको विशेष महाधिवेशन जरूरी छैन, नियमित नै गर्नुपर्छ र त्यो पनि फागुन २१ को चुनावपछि भन्ने लाइन समाते । यो अभिव्यक्ति सभापति शेर बहादुर देउवाकै जस्तो हो । यही मेसोमा सभापति देउवा र एमाले अध्यक्ष केपी ओली बीच तारन्तार भएका भेटघाटपछि संसद पुनर्स्थापनाका पक्षमा दुबै दलका बहुमत सांसदको हस्ताक्षर सहित सर्वोच्चमा रिट पनि दर्ता गरियो ।
तर अहिले राजनीतिक परिदृश्य केही बदलिएको छ । चुनावमा नजाने भनेर अडान लिइरहेको नेकपा एमालेले पनि समानुपातिकको सूची बुझाएपछि अब संसद पुनर्स्थापना भन्दा पनि नयाँ निर्वाचनको बहस सुरु भएको छ । पुराना दलहरू चुनावी समीकरण, गठबन्धन वा सहयोगको रणनीति बनाउने कि भन्नेमा समेत शीर्ष तहमै विचार विमर्श गर्न थालेका छन् । रास्वपा समेतका नयाँ दलहरू पनि चुनावी रणनीति र गठबन्धन गर्न थालेका छन् र पुराना दलको विरासत यसपटक ढाल्ने भन्दै कम्मर कसिरहेका छन् । यी राजनीतिक घटनाक्रममा भारत, चीन वा पश्चिमा मुलुकको समर्थन खोज्ने वा तटस्थ रहने भन्ने द्विविधा नयाँ, पुराना दुबै दलहरूमा कायमै छ ।
अघिल्लो हप्ता प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि भारतको भ्रमण गरे । चार दिन भारत बस्दा उनले पनि त्यहाँ राजनीतिक भेटघाट गरेको बताइएको थियो । तर यस विषयमा खासै चर्चा भने उनले गरेनन् । दिल्लीमा रहँदा पूर्वप्रम भट्टराईले नेपालमा राजतन्त्र फर्किने सम्भावना शून्य रहेको दाबी गर्दै भारतीय मिडियाहरुलाई अन्तर्वार्ता पनि दिएका थिए ।
भट्टराई फर्केलगत्तै आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत पुगे । उनले त्यहाँ रहँदा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोबालसँग भेटवार्ता गरेको प्रचार गरिएको छ । यस विषयमा भारतीय पक्षबाट केही बताइएको छैन । आइतबार राति प्रचण्डलाई होटलमै भेट्न पुगेका भनिएको डोबालसँग करिब १ घन्टा एक्लाएक्लै कुराकानी भएको बताइएको छ । यो भेटमा राजतन्त्र पुनर्स्थापना समेतका विषयमा कुरा भए वा भएनन् केही खुलेको छैन ।
भारतको संयोजनमा विसं २०६२ सालमा १२ बुँदे सहमति र त्यसको जगमा २०६२-६३ को जनआन्दोलन भएको थियो । त्यस आन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य भई संविधान सभाको निर्वाचन भएको छ । अहिले फेरि नेपालमा राजतन्त्र फर्काउने विषयमा चर्चा चलिरहेको छ ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाह पनि भारत पुगेर आएका छन् । उनले भाजपाको प्रभावशाली मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुखलाई काँकडभिट्टा नजिक सीमावर्ती भारतीय शहर सिलिगुडीमा भेटेको समाचार आयो । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग नै भेट गरेको चर्चा पनि चल्यो । तर यस विषयको स्वतन्त्र पुष्टि भने अहिलेसम्म कतैबाट हुन सकेको छैन ।
प्रचण्ड दिल्लीमै रहेका बेला सोमबार दिउँसो कांग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवा पत्नी डा आरजु राणा पनि दिल्ली प्रस्थान गरेकी छिन् । राणाको सचिवालयले उनी स्वास्थ्य जाँचको फलोअपका साथै अन्य व्यक्तिगत कार्यक्रमका लागि दिल्ली पुगेको भनेको भए पनि राजनीतिक भेटघाट पनि हुन सक्ने बुझिएको छ ।
उता रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि बिहीबार भारत जान लागेको अर्काे एक समाचार स्रोतले बतायो । वाग्लेले एक थिंक ट्यांक संस्थाले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा सम्बोधन गर्न त्यहाँ जान लागेको बताइएको भएपनि उनले पनि भाजपाका एक नेतासँग भेटका लागि समय मागेको बुझिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी ‘उपचारका’ लागि स्वकीय सचिव आदर्श श्रेष्ठ लाई लिएर आईतबार साँझ दिल्ली पुग्नु भएको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनका बारेमा छिमेकी मुलुक भारत र चीनले समेत अनविज्ञता प्रकट गरेको समाचार बाहिर आएको थियो । पछिल्ला दिनमा नेपालमा अमेरिका, चीन र भारतमध्ये भारतको प्रभाव कम हुँदै गएको चर्चा गर्नेहरु पनि कम छैनन् । यस्तो विश्लेषण भइरहेका बेला यता नेपालमा निर्वाचन नजिकिँदै जानु र अर्कातर्फ नेताहरुको दिल्ली दौडको प्रतियोगिता सुरु हुनुले दिल्लीमा केही पाक्दै त छैन भन्ने आशंका जन्माएको छ ।
तर, बाहिर जेजस्ता विश्लेषणहरु आइरहेका भए पनि आगामी निर्वाचन र यसको विश्वसनीयता, निर्वाचनपछिको सरकार, राजसंस्थाको पुनर्स्थापना र आगामी राजनीतिक परिदृष्यका बारेमा भारतका नेताहरुसँग नेपालका नेताहरुले परामर्श गरेका हुन सक्छन् । यसको परिणाम आगामी निर्वाचनको पारि या वारि नै पनि निस्कन सक्दछ ।












