२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको किचलोः विशेष महाधिवेशन कि संकल्प सम्मेलन ?



अ+ अ-

काठमाडौँ, २२ पुस : तीन प्रमुख पार्टीमध्ये अहिले नेपाली कांग्रेसको अन्तरपार्टी संघर्ष निकै चर्किएको छ । यसको परिणाम फुटसम्म पुग्ने त होइन भन्ने त्रास नेपाली कांग्रेसका कार्यकर्ता तहसम्म नै पुगेको छ । आज पार्टी कार्यालय घेराउ र नेता विमलेन्द्र निधिमाथिको दुर्व्यवहारले भोलिका दिनमा अरु नेताहरुमाथि यस्तो व्यवहार नदोहोरिएला भन्न सक्ने अवस्था छैन ।

गत भदौ २२ र २३ गतेको जेनजीहरुको आन्दोलनपछि ठूला तीन पार्टी कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रमा नै विवाद चुलिएको थियो । त्यस समयको माहोल र माग नै तीन ठूला नेताको विकल्प अब पुराना पार्टीमा आवश्यक छ ।

तत्कालिन माओवादीले नेकपा एकीकृत समाजवादीसहितका केही साना तिना पार्टीहरु मिलाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू संयोजक बसेर तत्कालका लागि विवाद मत्थर गरेका छन् । अर्काे कुरा सो पार्टीमा प्रचण्डलाई टक्कर दिइरहेका नेता जनार्दन शर्माले अर्काे पार्टी खोलेर अलग्गिएपछि पनि प्रचण्डलाई सहज भएको हो ।

यता एमालेको विवाद पनि महाधिवेशनले लगभग टुंग्याइसकेको छ । निर्धारित समय भन्दा केही अघि नै अघिल्लो महिना सम्पन्न महाधिवेशनले पुनः केपी ओलीलाई नै पार्टीको अध्यक्षमा निर्वाचित गरेपछि अहिले एमालेको विवाद सतहमा आउन छोडेको छ । बरु उम्मेदबार छनौट प्रक्रियामा त्यहाँ विवाद छ तर पार्टीको आन्तरिक विवाद भने सल्टिएको देखिएको छ ।

तर कांग्रेसमा भने विवाद कायमै छ । जेनजी आन्दोलनमा कुटपिटमा परेर घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि अस्पतालमा रहेकै बेला यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनको माग गरेर महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान चलाए ।

त्यस समय ठूला पार्टीका तीन ठूला नेताका विरुद्धको आवाज देशव्यापी थियो । त्यसकारण कांग्रेसबाट पनि सभापति देउवालाई निकाल्नुपर्छ भन्ने मनसायले यो हस्ताक्षर अभियान सुरु भयो । त्यो अभियानमा कांग्रेसको इतर पक्षका नेता शेखर कोइराला पक्षका प्रतिनिधि पनि सहभागी भएका थिए । किनभने शेखर त्यस समय यसको पक्ष या विपक्षमा बोलेका थिएनन् ।

त्यसपछि लगत्तै सभापति देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए र आफू अलग्गिए । यता कोन्द्रीय समितिको बैठकले विशेष नभएर नियमित महाधिवेशनको समय यही पुसको २६ गतेबाट तोक्यो ।

तर क्रियाशील सदस्यहरुको नविकरण लगायतका महामन्त्रीले नै गर्नुपर्ने कामहरु सम्पन्न हुन नसकेको भन्दै पुसको महाधिवेशन पनि हुन सकेन र अर्काे मिति आगामी वैशाखको अन्तिममा अर्थात् २८ देखि ३१ गतेसम्म तोकियो ।

तर महामन्त्रीद्वय भने अहिले पनि विशेष महाधिवेशनकै पक्षमा रहेका छन् । उनीहरुले यही पुसको अन्त्यमा सो महाधिवेशन आह्वान गरेर सबै प्रतिनिधिलाई काठमाडौँ नै बोलाएका छन् ।

तर पनि संस्थापन पक्ष भने यसलाई विशेष मान्ने पक्षमा छैन । त्यतिमात्र नभएर इतर पक्षका नेता डा शेखर कोइराला पनि यसको विपक्षमा छन् । उनले भने यसरी कुनै पनि एजेण्डा र तयारी बिनानै महामन्त्रीहरुले भेला बोलाएर त्यो महाधिवेशन हुन्छ भनेर प्रश्न गरिरहेका छन् ।

सभापति देउवाको भनाई पनि त्यही छ । तर यसरी डा कोइरालाले जस्तो गरी महामन्त्रीको विरुद्धमा स्पष्ट रुपमा भने देउवाले बोलेका छैनन् । सभापति देउवा पार्टी नफुटोस् भन्नेमा आफूले चाहेको र यसैमा बढी केन्द्रित रहेको बताएका छन् ।

यसरी एक भाई हिङ गन्हाएर भान्सामै नपस्ने र अर्काे भाई हिङ नभई खाना खानै नबस्ने जस्तो बडो अप्ठेरो अवस्थामा कांग्रेस पुगेको छ । हिजोको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पनि यिनै विषयहरुमा छलफल भएको बुझिएको छ, तर ठोस निर्णय भने हुन सकेको छैन । सो बैठकले विशेष महाधिवेशनको औचित्य सकिएको भने निर्णय गरेको छ ।

उत्पन्न विशेष महाधिवेशनको विवाद समाधानका लागि यसैबीच यो समस्याको मध्यमार्गी बाटोका रुपमा ‘संकल्प सम्मेलन’ गर्नेगरी छलफल अगाडि बढाइएको एक समाचार स्रोतले जनाएको छ । स्रोत भन्छ– पुस १८ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतबाट निर्णय गराएर १५ औँ महाधिवेशन २०८३ वैशाख २८–३१ मा सारेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमै विशेष महाधिवेशन गर्ने तयारी अगाडि बढाएका थिए । तर, त्यसको निकासस्वरुप केही मध्यमार्गी प्रस्तावहरु अघिद्ध बढेका छन् ।

महामन्त्रीद्वयले अघि सारेको महाधिवेशनले पार्टीमा विग्रह पैदा हुने खतरा बढेपछि विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीसँग संवाद अगाडि बढाएको नेताहरूले बताएका छन् । यसका लागि सभापति देउवाले पनि सहजीकरण गरेको बताइएको छ ।

कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा, शर्मा र केन्द्रीय सदस्य रमेश लेखकबीच घनिभूत रूपमा संवाद भइरहेको कांग्रेस नेताहरू बताउँछन् । स्रोतका अनुसार छलफलमा विशेष महाधिवेशनको ‘सेफल्यान्डिङ’का लागि केन्द्रीय कार्यसमिति बैठकले पुस अन्तिम साता ‘संकल्प सम्मेलन’ आह्वान गर्नुपर्ने महामन्त्री शर्माको प्रस्ताव छ ।

यस्तै फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने पनि महामन्त्री शर्माले नयाँ प्रस्ताव अघि सारेका छन् ।

त्यसैले अबको भेला विशेष महाधिवेशनका रुपमा परिणत होला कि संकल्प सम्मेलन भन्नेमा आझै अन्यौल छ । तर पनि पहिला ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको भनिएका मध्ये अधिकांश शेखर पक्षका रहेका र उनीहरु अहिले हस्ताक्षरका विषयमा मौन बसिरहेकाले पनि महामन्त्रीद्वयको प्रस्तावमा विशेष महाधिवेशन हुनेमा भने निश्चित छैन ।