३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकै उपग्रह ‘मुनाल’ आज अन्तरिक्षतर्फ, इसरोको रकेटबाट ऐतिहासिक प्रक्षेपण हुदै



अ+ अ-

काठमाडौं। नेपालले अन्तरिक्ष प्रविधिमा नयाँ इतिहास रच्ने तयारी गरेको छ। पूर्ण रूपमा स्वदेशी प्रविधिमा, विद्यार्थीहरूले निर्माण गरेको उपग्रह ‘मुनाल (MUNAL)’ आज भारतको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को पीएसएलभी–सी६२ रकेटमार्फत प्रक्षेपण हुँदैछ।

बिहान १०:१७ बजे भारतीय समयअनुसार (नेपाल समय १०:३२ बजे) श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट ‘मुनाल’लाई लो अर्थ अर्बिट (पृथ्वीको नजिकको कक्षा) मा प्रक्षेपण गरिनेछ। यो उपग्रह करिब ८०० किलोमिटर उचाइमा कक्षास्थापित हुनेछ।

‘मुनाल’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को नेतृत्वमा विकास गरिएको हो। परियोजना अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपिएन) र भारत सरकारको सहकार्यमा सम्पन्न भएको हो, जुन नेपाल–भारत अन्तरिक्ष सहकार्यको महत्वपूर्ण उपलब्धि मानिएको छ।

१ युनिट क्युबस्याट (1U CubeSat) स्वरूपको यो उपग्रह करिब १.३ किलोग्राम तौलको छ। काठमाडौं विश्वविद्यालय हाई स्कुल (केयूएचएस) मा स्थापना गरिएको नेपालकै पहिलो स्पेस सिस्टम्स ल्याबोरेटरीमा दुई वर्ष लगाएर उपग्रह निर्माण गरिएको हो। केयूएचएस, चैतन्य सेकेन्डरी स्कुल, आजाद सेकेन्डरी स्कुल र संजीवनी मोडल हायर सेकेन्डरी स्कुलका ९ जना विद्यार्थीको टोलीले नेपाली इन्जिनियर र अनुसन्धानकर्ताको प्राविधिक मार्गदर्शनमा यो उपग्रह तयार पारेका हुन्।

‘मुनाल’ उपग्रहको प्रमुख उद्देश्य वनस्पति अनुगमनका लागि आरजीबी र निअर–इन्फ्रारेड क्यामेराको प्रयोग, स्वदेशमै विकास गरिएको स्याटेलाइट सिस्टम–अन–चिप (SSoC) को परीक्षण तथा कक्षामै कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तस्बिर प्रशोधन गर्नु रहेको छ। यसबाट डाटा प्रसारणलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। उपग्रहको सञ्चालन र डाटा रिसिभिङ नास्टको खुमलटारस्थित ग्राउण्ड स्टेसनबाट गरिनेछ।

यो प्रक्षेपण भारतको विदेश मन्त्रालयको अनुदान सहयोगमा, न्यूस्पेस इन्डिया लिमिटेड (एनएसआईएल) मार्फत सम्पन्न हुन लागेको हो। २०२४ मा सम्पन्न भारत–नेपाल संयुक्त आयोग बैठकमा भएका सहमतिपछि यो परियोजनाले थप गति लिएको थियो।

नास्टका उपकुलपति प्रा.डा. दिलीप सुब्बाले ‘मुनाल’ मिशनले नेपाललाई अन्तरिक्ष विज्ञानको नयाँ यात्रामा प्रवेश गराएको बताउनुभयो। नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले युवा प्रतिभाको विकास र भावी अन्तरिक्ष इकोसिस्टम निर्माणमा यो परियोजना महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, अन्तरिक्ष प्रतिष्ठान नेपालका निर्देशक डा. आभास मास्केले ‘मुनाल’लाई नेपालको दिगो राष्ट्रिय अन्तरिक्ष कार्यक्रमतर्फको आधारशिला भनेका छन्। नास्ट अन्तरिक्ष अनुसन्धान कार्यक्रम प्रमुख इ. हरिराम श्रेष्ठले विद्यार्थी–केन्द्रित अनुसन्धान नै नेपालको अन्तरिक्ष यात्राको मेरुदण्ड बन्ने स्पष्ट गर्नुभयो।

‘मुनाल’ मिशन नेपालका लागि अन्तरिक्ष प्रविधिमा दोस्रो ठूलो उपलब्धि मानिएको छ। यसलाई युवाको सशक्तीकरण, वैज्ञानिक नवप्रवर्तन र क्षेत्रीय सहकार्यको दृष्टिले ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।