नुवाकोट। महाकवी लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार झिल्टुङ पहाडी जीवनका लागि उत्कृष्टस्थल रहेको सन्देश दिने लक्ष्यसहित आयोजित ‘झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिताको दशौँ संस्करण आज सम्पन्न भएको छ ।
‘जे गरौँः गज्जबले गरौँ’ भन्ने नारासहित बेलकोटगढी नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत पालिकास्तरीय पर्वका रूपमा तीन दिनसम्म सञ्चालन गरिएको दौडमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका चार सय नेपाली धावकको सहभागितामा झिल्टुङ दौड सम्पन्न भएको हो ।
बेलकोटगढी नगरपालिकामा पर्ने साविकको दुई पिपल, जिलिङ र रातमाटे गाविसको भूमिको पहिचानका रूपमा रहेको झिल्टुङ पहाडी जीवनका लागि उत्कृष्ट थलो मानिन्छ ।
दौड प्रतियोगितामार्फत खेल क्षेत्रको विकाससहित यहाँ पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउँदै आइएको नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार अन्तरराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीसहित, भेट्रान, खुला छात्रछात्रा, स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह)सहितको विभिन्न दश बिधामा देशभरका ३८ जिल्लाका चार सयभन्दा बढी खेलाडी (धावक)ले सहभागिता जनाएका छन् ।
“नुवाकोटको भूमिबाट तारुकाको गोरु जुँधाइले ‘स्पेनको बुल फाइट’को झल्को बिर्साउँदै आएजस्तै बेलकोटगढीको झिल्टुङ दौड प्रतियोगिताले गाउँघरका महिलादेखि दौडबाटै अन्तरराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका व्यक्तिलाईसमेत आकर्षित गराउने महत्वपूर्ण अवसर जुराएको छ”, नगरप्रमुख गुरुङले भन्नुभयो । योसँगै खेल–पर्यटनको प्रवर्द्धन, पहाडी पदमार्गको निर्माण, दौडेर नाम राख्न सकिने रहेछ भन्ने सन्देशदेखि सुरक्षा निकायमा सेवा प्रवेशका लागि क्षमतावान जनशक्ति उत्पादनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिस्पर्धामा सहभागी खेलाडीले अघिल्ला वर्षका कीर्तिमानी तोड्दै झिल्टुङ दौडबाट नयाँ सन्देश दिएको खेलको प्राविधिक जिम्मेवारी लिएको नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले बताउनुभयो । “दौडका विभिन्न दश बिधामध्ये ‘आमा’ समूह र ‘बा’समूहबाट हुने सहभागिता देशभरका लागि रोचक र प्रेरणादायी पक्ष मानिन्छ”, उहाँले भन्नुभयो, “प्रतियोगिताले खेल क्षेत्रसहित समग्र पक्षलाई रोचक बनाउँदै आएको छ ।”
ग्रामीण क्षेत्रका रूपमा रहेको यो ठाउँका महिला घरको चुलोचौका र घाँसदाउरामा सीमित हुने हुँदा यो अवसर आमाहरूका लागि घरबाट बाहिर निस्कने मात्रै नभई पुरषसरह प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने प्रतियोगिता संस्थापक एवं स्थानीय मोहन नोपलले बताउनुभयो ।
झिल्टुङको प्रचारप्रसारका लागि महादेव माध्यमिक विद्यालयले सुरु गरेको दौड प्रतियोगिता स्थानीय सरकार स्थापना भएसगैँ बेलकोटगढी नगरपालिका–५ को कार्यालय हुँदै अहिले नगरपालिकाले पालिकास्तरीय पर्वका रूपमा मनाउन थालेको छ । विगतका वर्षमा एक दिनमा सम्पन्न हुने प्रतियोगिता यो वर्ष बिहीबारदेखि सुरु भएर आज सम्पन्न भएको हो । रासस












