१५ असार २०८३, सोमबार
,
Latest
भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान



अ+ अ-

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव–२०८३ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत भई झण्डै एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ मा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा वृद्धि हुने भएकाले यसबाट दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था तथा दुग्ध उद्योग प्रत्यक्ष लाभान्वित हुने बताए।

नेपाल सरकारले यस वर्षको राष्ट्रिय धान दिवसका लागि तय गरेको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम आयोजना गरिएको एसोसिएसनले जनाएको छ। कार्यक्रममा सरकारी, सहकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

एसोसिएसनका अनुसार असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको प्रतीक हो। खेतबारीमा रोपाइँको कठिन श्रमपछि दही–चिउरा खाने चलनले कृषक समुदायलाई ऊर्जा प्रदान गर्नुका साथै सामूहिकता र सहकार्यको भावनालाई बलियो बनाउँदै आएको उल्लेख गरिएको छ।

अध्यक्ष दाहालले पछिल्लो समय गाउँघरमा प्रचलित रोपाइँ संस्कृतिसँग जोडिएका परम्परागत अभ्यासहरू क्रमशः हराउँदै गएको भन्दै यस्ता कार्यक्रममार्फत नेपाली मौलिक संस्कृति र कृषि परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताए।

उनका अनुसार दही पोषणयुक्त खाद्य पदार्थ हो, जसमा प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायतका पोषक तत्व पाइन्छन्। दहीमा रहेका लाभदायी जीवाणुले पाचन प्रणालीलाई सुदृढ बनाउन तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउने भएकाले दही–चिउरा स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण खाद्य संयोजन हो।

एसोसिएसनले मोहीको प्रयोग र महत्वबारे पनि चर्चा गर्दै पछिल्ला वर्षहरूमा परम्परागत रूपमा प्रयोग हुँदै आएको मोहीको स्थान कृत्रिम तथा रासायनिक पेय पदार्थले लिन थालेको जनाएको छ। मोहीले पाचन प्रणाली सुधार गर्न, शरीरलाई शीतलता प्रदान गर्न तथा स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुर्‍याउने भएकाले यसको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबीच कृषि तथा दुग्ध क्षेत्रलाई आधुनिक, उत्पादनमुखी र दिगो बनाउन राज्य, निजी क्षेत्र, सहकारी तथा अन्य सरोकारवालाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ। धान र दूध उत्पादनमा आत्मनिर्भरता हासिल नगरी समृद्ध नेपालको लक्ष्य पूरा गर्न नसकिने धारणा समेत व्यक्त गरिएको छ।

नेपाल डेरी एसोसिएसनले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिन सबै नागरिकलाई आह्वान गरेको छ।रासस