काठमाडौँ । भन्सार विभागले चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दावी गरेको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताउनुभएको हो ।
उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जिकिर समेत गर्नु भयो । महानिर्देशक भण्डारीले नेपाल–भारतबीच खुला सीमा भएका कारण चोरी, पैठारी बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विभागले सम्बन्धित अन्य निकायहरुको सहयोगमा अर्धन्यायिक निकायको रुपमा समेत काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले खुला सीमाका कारण भईरहेको अर्बौंको चोरी निकासीका सामानहरुलाई नियन्त्रणमा लिने उनीहरुलाई कारबाहीको दायरामा ल्याउने काम भईरहेको बताउनु भयो ।
महानिर्देशक भण्डारीले भन्नुभयो, ‘हामी भारतसँग खुला सीमा भएका मुलुक हौ । चोरी, पैठारी, निकासीहरु हाम्रा खुला सीमामा कारण भईराखेका छन । त्यसमा हामी मात्रै इन्भल्व नभएर सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अन्य निकायहरु पनि संलग्न भएर हामीले यसलाई नियन्त्रण गरिरहेको अवस्था छ । भन्सार प्रशासनले त्यसरी आएका सामानहरु नियन्त्रणमा लिने, कब्जामा लिने र जफते गर्ने मुद्दाका अर्धन्यायिक निकायको रुपमा पनि काम गरिराखेको छ । त्यस्तो अर्वौको त्यस्ता खालका कारोबारहरु हामीले नियन्त्रण गरेर मुद्दाहरु टुंग्याएको अवस्था छ । यस्तो कुराहरुमा भन्सार प्रशासन अग्रणी रुपमा अगाडि छ । राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत पनि यी कुराहरु स्थानीय तहमा पनि र केन्द्रिय रुपमा पनि पोलिसीगत कुराहरु सुधार गर्ने कुरा भएर कार्यान्वयन भईरहेको अवस्था छ ।’
विभागले भन्सार ऐन, ८२ कार्यान्वयनमा आएको र त्यसले भन्सार प्रशासनमा व्यापक सुधार भईरहेको दाबी समेत गर्दै आएको छ ।











