लन्डन । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल पछिल्ला केही खेलमा डगमगाएको देखिए पनि उपाधि दौडमा उनीहरूको स्थितिमा ठूलो खतरा देखिँदैन। हाल आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा चार अंकले अगाडि छ।
आठ दिनअघि दोस्रो स्थानको टोलीभन्दा नौ अंकले अगाडि जाने अवसर गुमाएको आर्सनलले त्यसयता नटिङ्घम फरेस्टसँग गोलरहित बराबरी खेलेको थियो भने आइतबार म्यानचेस्टर युनाइटेडसँग ३–२ को हार बेहोरेको छ। यो हारसँगै आर्सनल घरेलु मैदानमा यस सिजनको पहिलो पराजय भोग्न बाध्य भयो र लिगमा लगातार तीन खेल जितविहीन बनेको छ।
पूर्व म्यानचेस्टर युनाइटेड कप्तान रोय केनले स्काइ स्पोर्ट्समा प्रतिक्रिया दिँदै भने, “आज आर्सनलमाथि दबाब थियो। उनीहरू लिगमा राम्रो स्थानमा छन्, सबै कुरा उनीहरूको पक्षमा छ, तर दबाब स्पष्ट देखिन्थ्यो। पछिल्ला वर्षहरूमा यही दबाबकै कारण उनीहरू चुक्दै आएका छन्।”
उनले थपे, “लिगमा यस्तो स्थानमा हुँदा पनि उनीहरू आत्मविश्वासी देखिँदैनन्। चुनौतीलाई डराएर होइन, स्वीकार गरेर अघि बढ्नुपर्छ।”
तथ्यांकले अझै पनि आर्सनललाई बलियो दावेदार देखाउँछ
डगमगाहटका बाबजुद आर्सनलको सिजन समग्रमा प्रभावशाली नै छ। च्याम्पियन्स लिगमा १०० प्रतिशत जित, काराबाओ कपको सेमिफाइनलमा चेल्सीविरुद्ध अग्रता र एफए कपको चौथो चरणमा प्रवेश — चारै उपाधि अझै सम्भावनामा छन्।
अप्टाको तथ्यांकअनुसार आर्सनलसँग प्रिमियर लिग जित्ने ८४.४४ प्रतिशत सम्भावना छ। म्यानचेस्टर सिटीको सम्भावना ८.३८ प्रतिशत र एस्टन भिल्लाको ७.०९ प्रतिशत मात्र देखाइएको छ। बाँकी सबै टोलीको सम्भावना १ प्रतिशतभन्दा कम छ।
चेजिङ टोलीहरूको अस्थिरता पनि आर्सनलका लागि फाइदाजनक देखिन्छ। पछिल्ला तीन खेलमा एक हार र दुई बराबरी भए पनि पछिल्ला छ चरणमा शीर्ष ६ टोलीमध्ये आर्सनलको अंक औसत दोस्रो उत्कृष्ट छ।
सहज देखिएको बाँकी तालिका
आर्सनलले शीर्ष ६ का टोलीसँग अब केवल दुई खेल मात्र खेल्न बाँकी छ — चेल्सी (घरेलु, मार्च १) र म्यानचेस्टर सिटी (अवे, अप्रिल १८)। कागजमा हेर्दा शीर्ष टोलीहरूमध्ये आर्सनलको बाँकी तालिका सबैभन्दा सहज मानिएको छ।
यस सिजन लिग जित्न अघिल्ला वर्षजस्तो धेरै अंक आवश्यक नपर्ने संकेत पनि देखिएको छ। २३ खेलपछि आर्सनलको ५० अंक छ, जुन सामान्यतया उपाधि जित्ने टोलीको औसत (५५ अंक) भन्दा कम हो।
समर्थकको प्रतिक्रिया र आर्टेटाको धारणा
म्यानचेस्टर युनाइटेडसँगको हारपछि एमिरेट्स स्टेडियममा केही समर्थकले हुटिङ गरेका थिए। प्रशिक्षक मिकेल आर्टेटाले यसलाई “उपाधि जित्ने आकांक्षासँग जोडिएको अपेक्षा” भनेका छन्।
“हार यात्रा कै हिस्सा हो,” आर्टेटाले भने। “महत्वपूर्ण कुरा भनेको हामी कसरी प्रतिक्रिया दिन्छौं भन्ने हो। म खेलाडीहरूलाई चिन्छु, हामी तुरुन्तै फर्किन्छौं।”
गोल समस्या चिन्ताको विषय
आर्सनलका आक्रमणकारी खेलाडीहरू पछिल्लो समय गोल गर्न संघर्षरत देखिएका छन्।
बुकायो साका – पछिल्ला १३ खेलमा गोल छैन
भिक्टर ग्योकरेस – पछिल्ला ११ प्रिमियर लिग खेलमा पेनाल्टी बाहेक गोल छैन
गाब्रिएल मार्टिनेली – पछिल्ला १३ लिग खेलमा गोल छैन
नोनो माडुके – २५ खेलदेखि गोलविहीन
लियान्ड्रो ट्रोसार्ड – ११ खेलमा मात्र एक गोल
पूर्व इंग्ल्यान्ड कप्तान वेन रुनीले भने, “आर्सनल अझै पनि उपाधिको मुख्य दावेदार हो, तर पछिल्ला तीन खेलले आर्टेटालाई चिन्तित बनाउनेछ।”
पूर्व म्यानचेस्टर युनाइटेड डिफेन्डर ग्यारी नेभिलले भने,
“यो आर्सनलका लागि चेतावनीपूर्ण दिन हो। उनीहरूले पुनः सम्हालिनु र पुनः सोच्नु आवश्यक छ। चार अंकको अग्रता अझै कायम छ, तर प्रश्नहरू उठ्न थालेका छन्।”












