१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक मार्गले फेरियो पहिचान



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पुग्नका लागि निकै सास्ती खेप्नुपर्दथ्यो । सहज सडकको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाले साँघुरो बाटोमा पैदल नै गन्तव्यमा पुग्नुपर्दथ्यो । घाँडीघाँच क्षेत्र निकै दुर्गम थियो । “साइकलमा पनि मुस्किलले पुग्न सकिन्थ्यो”, पूर्वनगर उपप्रमुख ईश्वरी खरेलले भन्नुभयो, “स्थानीय तहको निर्वाचनपछि जैविक, धार्मिक पर्यटन मार्ग बनेपछि त्यो क्षेत्र अहिले सुगम बनेको छ, अहिले त्यो क्षेत्रमा एम्बुलेन्स जान्छ, गाडी जान्छ ।”

खरेलले भनेझैँ स्थानीय तह निर्वाचनपछि उत्तरी क्षेत्रमा निर्माण गरिएको जैविक मार्ग विकासको नमूना भन्दै प्रशंसा गर्न थालिएको छ । यस मार्गको सङ्घीय, प्रदेशका मन्त्री, सांसद, राजनीतिक दलका नेता, स्थानीय सबैले अवलोकन गरेका छन् । नगरपालिकाले पछिल्ला दुई वर्षमा यस मार्गमा हाफ म्याराथन गरी जैविक मार्गको परिचय राष्ट्रियस्तरमा पुगाएको छ । म्याराथन धावक वैकुण्ठ मानन्धरको उपस्थितिमा गत वर्ष पहिलोपटक जैविक मार्गमा म्याराथन गरिएको थियो ।

करीब १८ देखि २२ मिटर चौडा यो मार्ग रौटेलादेखि ब्रह्मदेवसम्म १५ किलोमिटर छ । स्थानीय बासिन्दाले कल्पना नगरेको यो मार्ग बनेपछि घाँडीघाँच क्षेत्रको परम्परागत पहिचान फेरिएको छ । स्थानीय तह निर्वाचनसम्म दुर्गम बस्तीका रुपमा चिनिने यो बस्ती अढाइ वर्षमै सुगम बस्तीका रुपमा चिनिन पुगेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगर चक्रपथको सपना सार्थक बनाउन उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिणी क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको बताउनुभयो ।

दुवै मार्गलाई जोडेर बाह्य चक्रपथ बनाउने योजना शुरु गरिएको छ । बाह्य चक्रपथको ८३ किलोमिटर लम्बाइ छ । रौटेलाबाट बाह्य चक्रपथ निर्माण शुरु गरिएको छ । “यो क्षेत्रमा यस्तो मार्ग बन्छ भन्ने हामीलाई लागेकै थिएन”, वडा नं १ बाराकुण्डाका स्थानीय रवीन्द्र कुँवरले भन्नुभयो, “यसले हामीलाई फाइदैफाइदा छ, अब गाडी चल्छन्, जग्गाको भाउ बढेको छ, चुरे जोगिएको छ, जङ्गली जनावरको डर हटेको छ, दुर्गम भन्ने पहिचान नै हट्यो ।” घाँडीघाँच क्षेत्रलाई दुर्गम पिछडिएको भनेर विगतमा छोरा मान्छेको विवाह गर्नसमेत समस्या हुने गरेको स्थानीय बताउँछन् ।

जैविक मार्गलाई हरियाली बनाउन किनारमा वृक्षरोपण गरिएको छ । वडा नं ८ मा मार्ग किनारमा उद्यान निर्माण अघि बढाइएको छ । जैविक धार्मिक पर्यटकीय मार्गले नगरपालिकाका वडा नं १, ३, ७, ८, ९ र १० लाई एकापसमा जोडेको छ भने धार्मिक पर्यटकीय क्षेत्र रौटेला, बाराकुण्डा, विष्णुधाम साकेतधाम, भम्केनी धाम, कालिताल झरना, झिलमिला र सिद्धनाथ मन्दिर जोडिएका छन् ।

जैविक मार्ग भएर भारतको पूर्णागिरीका दर्शनार्थीलाई रौटेला ल्याउने लक्ष्य राखिएको छ । त्यसका लागि नगर प्रमुख विष्टले मुसेट्टी नजिक महाकालीमा घाट सञ्चालनमा ल्याउन सङ्घीय सरकारसित पहल गरिएको बताउनुभयो । जैविकमार्गले जोडिने रौटेला, भम्केनी र ब्रह्मदेव पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छन् । सरकारले गत वर्ष १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा ती स्थानलाई सूचीकृत गरेको थियो ।

भम्केनीमा धाममा नेपाल आमाको मूर्ति बनाउन रु एक करोड सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । त्यसका लागि यस वर्ष रु ५० लाख रकम प्रदान गरिनेछ । नगर गौरवको योजनाका रुपमा रहेको जैविक धार्मिक पर्यटकीय मार्ग सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा परेको छ । प्रदेश सरकारले यो मार्गलाई कर्णालीसम्म पुगाउन विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०का लागि बजेटसमेत विनियोजन गरेको छ ।