काठमाडौं । सरकारबाट बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का पाँचजना सदस्य अदालतको अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका परिषद सदस्यहरु सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटलाई युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हटाइएको थियो ।
आफूहरुलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै हटाइएका ८ जनामध्ये ५ जनाले उच्च अदालत पाटनको सहारा लिएका थिए ।
उच्च अदालतका न्यायाधीश खुशीप्रसाद थारु र विमल सुवेदीको संयुक्त इजलासले मंगलवार उनीहरुलाई हटाउने निर्णय कार्यन्वयन नगरी यथास्थितिममा राख्न अन्तरिम आदेश दिएको हो ।
सो आदेशसँगै परिषदका पाँचजना सदस्यहरु आजै राखेपमा पुनर्वहालीका लागि जाने भएका छन् ।
यसअघि सदस्य सचिवबाट हटाइएका रमेश सिलवालको मुद्दामा पनि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।













