काठमाडौं । सल्यान जिल्लामा सार्वजनिक सरोकारका विषय र विभिन्न बेथितीविरुद्ध निरन्तर आवाज उठाउँदै आएका जेनजी सल्यानका संयोजक युवराज खड्का सोमबार बिहान पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीले खड्कालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
खड्का लामो समयदेखि जिल्लाको कर्मचारीतन्त्र, प्रशासनिक संयन्त्र तथा जनप्रतिनिधिहरूबाट भइरहेको भनिएको अनियमितता र बेथितीका विषयमा सार्वजनिक रूपमा आवाज उठाउँदै आएका थिए।
केही समयअघि उनले उठाएको विषयकै आधारमा नक्कली च्याट प्रयोग गरी चन्दा असुली तथा प्रशासनिक क्षेत्रमा अनियमितता गरेको आरोप लागेका एक नायब सुब्बाविरुद्ध अनुसन्धान अघि बढेको थियो।
पछिल्लो समय खड्काले सल्यानका विभिन्न क्षेत्रमा, विशेषगरी कालीमाटी क्षेत्रमा भइरहेको भनिएको काठ तस्करीका विषयमा निरन्तर प्रश्न उठाउँदै आएका थिए। यस क्रममा बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमसहित केही व्यक्तिले आफूमाथि काठ तस्करीसँग जोडेर चरित्रहत्या गरिएको भन्दै साइबर अपराधसम्बन्धी उजुरी दर्ता गराएका थिए।
यसअघि सार्वजनिक चासोका विषयमा उठाइएका अभिव्यक्तिलाई आधार बनाएर मुद्दा दर्ता गर्न कानुनी आधार कमजोर रहेको टिप्पणी गरिएको भए पनि अन्ततः उजुरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको स्रोतहरूको दाबी छ।
खड्काले आफूविरुद्ध विभिन्न समूहहरू सक्रिय भएको र पक्राउ गराउने प्रयास भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत पटक–पटक सार्वजनिक अभिव्यक्ति दिएका थिए।
यसैबीच जिल्ला प्रहरी कार्यालयको नेतृत्व परिवर्तनपछि डीएसपी दीपक पातली कार्यालय प्रमुखका रूपमा आएका थिए र उनको कार्यकालमै खड्का पक्राउ परेका हुन्।
सल्यानमा काठ तस्करीको विषय नयाँ नभएको र विगतदेखि नै विभिन्न समूहको संलग्नतामा यस्तो गतिविधि भइरहेको आरोप स्थानीय स्तरमा उठ्दै आएको छ। यद्यपि यस विषयमा सम्बन्धित निकायबाट प्रभावकारी अनुसन्धान र नियन्त्रण हुन नसकेको भन्दै आलोचना हुने गरेको छ।
खड्का पक्राउ पर्दा उनी कालीमाटी क्षेत्रमा पुगेर स्थानीयले उठाएका काठ तस्करीसम्बन्धी गुनासोको स्थलगत अध्ययन तथा कुमाख गाउँपालिकामा नेपाल टेलिकमको टावर स्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरिरहेका थिए।
उनको पक्राउपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै प्रकारका प्रतिक्रिया देखिन थालेका छन्। स्थानीय युवाहरूले सार्वजनिक सरोकारका विषय उठाउने व्यक्तिलाई पक्राउ गर्नुको कारण स्पष्ट पार्न सम्बन्धित निकायसँग माग गरेका छन्।












