२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छुः स्वास्थ्यमन्त्री गौतम



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

बुधवार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री गौतमले मानसिक रोगका विरामीहरुलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रश्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो । त्यस अवसरमा उहाँले निर्वाचन आचारसंहिताका  कारण आफूले धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बताउनु भयो ।

मन्त्री गौतमले भन्नुभयो,‘उहाँले यसलाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा यो अस्पताललाई विकास गरौ भन्नु हुन्छ । हाम्रो समाजमा मानसिक स्वास्थ्य र मानसिक अस्पताल भन्न साथै विरामी मनोरोगी भन्न साथै एक प्रकारको स्टिग्मा छ । जुन जसलाई अलि हेय भावले त्यस्ता विरामीहरुलाई हेर्ने प्रचलन छ । जुन सरासर लगत कुरा हो । किनभने जसरी ब्लड प्रेसर बढयो अथवा चिनीको विरामी भयो, अथवा क्यान्सरको विरामी भयो । त्यस्तै प्रकारले हाम्रो सम्पूर्ण सरिरलाई रेगुलेट गर्ने जुन हाम्रो ब्रेन हुन्छ, माइन्ड हुन्छ । त्यसमा तलमाथि पर्न र उपचारको आवश्यकता पर्नु यो सामान्य कुरा हो । तर त्यसलाई हामीले नबुझेर धेरै हेयभावले हेर्दछौँ । जुन गलत हो । त्यसले गर्दा यो राष्ट्रिय मनोस्वास्थ्य केन्द्र भन्यो भने अस्पताल भन्ने स्टिग्माबाट यो हटछ भन्ने उहाँको सोच छ । यो मलाई सही लागेको छ । अहिले त आचारसंहिता लगायत विभिन्न कुराहरु छन् । मैले कतिको सकुला, त्यो मलाई थाहा छैन । तर म प्रयास निकै गर्छु । अव आउने सरकारले त्यो काम गरिदेओस । यसको उपचारको क्रममा देखिएका स्टिग्मा हटाउने प्रयास गरिदेओस् भनेर म फेरि पनि आउने सरकारलाई म भन्न चाहन्छु ।’

मन्त्री गौतमले नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएकाले यसको उपचारका लागि उचित व्यवस्था गर्न अब आउने सरकारले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताउनु भयो ।