आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएका खेलहरुमा न्यूजील्यान्ड र नेदरल्यान्ड्स विजयी भएका छन् ।
चेन्नाईमा भएको दोस्रो खेलमा न्यूजील्यान्डले युनाइटेड अरब इमिरेट्स (युएई)लाई १० विकेटले पराजित गरेको थियो । यो जितसँगै न्यूजील्यान्डले समूह डी मा दुई खेलबाट ४ अंक बनाएको छ र सुपर आठ छनोटको नजिक पुगेको छ ।
आजको खेलमा युएईले टस जितेर ब्याटिङ रोजेको थियो । कप्तान मुहम्मद वासीमको अविजित ६६ तथा अलिसान सारफुको ५५ रन मद्दतले युएईले छ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
जितका लागि १७४ रनको लक्ष न्यूजील्यान्डले १५.२ ओभरमा हासिल गरेको थियो । न्यूजील्यान्डका लागि प्रारम्भिक ब्याटरहरु टीम साइफर्टले अविजित ८९ तथा फिन अलेनले ८४ रन बनाए ।
अर्कातर्फ, नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हराएर महत्वपूर्ण दुई अंक जोडेको छ । समूह ए का यी दुई टिमको खेल नयाँदिल्लीमा बिहान ११.१५ बजे सुरु भएको थियो ।

नेदरल्यान्ड्सले टस जितेर नामिबियालाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । नामिबियाका लागि यान फ्राइलिन्कले ३०, यान निकोल लफ्टी–ईटनले ४२, जेजे स्मिटले २२ रन बनाए ।
नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रनको मध्यम स्कोर खडा गरेको थियो ।
जितका लागि १५७ रनको लक्ष पाएको नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि बास डी लीडले सर्वाधिक ७२ रन बनाएका थिए भने कोलीन एकरमानले ३२, माइकल लेभिटले २८ रन बनाए ।
यो जितपछि नेदरल्यान्ड्सले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा पाकिस्तानसँग नेदरल्यान्ड्स रोमाञ्चक रुपमा ३ विकेटले पराजित भएको थियो ।
आजै साँझ कोलम्बोमा पाकिस्तान र अमेरिका बिच ७.१५ बजेदेखि खेल सुरु भएको छ । अमेरिकाले टस जितेर पाकिस्तानलाई ब्याटिङका लागि आमन्त्रण गरेको छ ।











