काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको दोस्रो सुपरओभर खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको हो ।
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले ६ बलमा २३ रन बनाको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दुई विकेट गुमाएर मात्र १९ रन बनायो ।अफगानिस्तानले दोस्रो बलमा मोहम्मद नाबीलाई गुमायो । पछि, रहमानउल्लाह गुरबाजले तेस्रो, चौथो र पाँचौं बलमा छक्का प्रहार गरे पनि जित सुनिश्चित गर्न सकेनन् । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्स र डेभिड मिलरले तीन/तीन छक्का प्रहार गरेका थिए ।
यसअघि पहिलो सुपर ओभरमा दुवै टोलीले १७/१७ रन बनाएका थिए । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले अन्तिम बलमा छक्का प्रहार गर्दै पहिलो सुपर ओभर बराबरी गरेका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । जबाफि ब्याटिङमा उत्रिएको अफगानिस्तानले पनि २० ओभरमा सबै विकेट गुमाएर १८७ रन बनायो । अफगानिस्तान टोलीलाई जितको लागि ३ बलमा २ रन आवश्यक थियो तर अन्तिम ओभरको चौथो बलमा फजलहक फारुकी रनआउट भएपछि खेल सुपरओभरमा गएको थियो ।











