काठमाडौँ। इरानका सर्वोच्च नेता अली खामेनेईका एक वरिष्ठ सल्लाहकारले यदि तेहरान र वासिङ्टन बीचको वार्ता यथार्थमा आधारित भए र अत्यधिक मागबाट मुक्त भए यसले आपसी हितको रक्षा गर्दै अघि बढ्नसक्ने बताउनुभएको छ।
इरानको रक्षा परिषदका सचिव अली शामखानीले कतारको अल जजिरासँगको एक अन्तर्वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।
उहाँले आफ्नो देश र संयुक्त राज्य अमेरिका बीच फेब्रुअरी ६ मा ओमानमा सम्पन्न पहिलो चरणको अप्रत्यक्ष आणविक वार्ताको सन्दर्भमा यो कुरा राख्नुभएको थियो ।
शामखानीले पश्चिम एसियाको स्थिरता र सुरक्षामा नकारात्मक असर पार्ने कार्यहरू र गतिविधिहरूबाट टाढा रहनु सबै पक्षका लागि तार्किक र र्कीक मार्ग भएको बताउँदै, क्षेत्रमा कूटनीतिक उपायहरू तनाव कम गर्ने र राजनीतिक समाधानहरूलाई सुदृढ गर्ने उद्देश्यमा केन्द्रित रहेको बताउनु भयो ।
उहाँले इरानको क्षेप्यास्त्र कार्यक्रम देशको रातो रेखा भएको र यो वार्ताको विषय नहुने कुरामा जोड दिँदै, देशविरुद्ध हुने कुनैपनि सम्भावित दुस्साहसको इरानले बलियो, निर्णायक र उपयुक्त जवाफ दिने चेतावनी दिनुभयो ।
उहाँले अमेरिकी समर्थन बिना इजरायलले इरानमाथि आक्रमण गर्न नसक्ने बताउँदै, इरानको सैन्य तयारीको स्तर उच्च रहेको र इरानविरुद्ध कुनै पनि पक्षले गर्ने गलत अनुमानको मूल्य भारी पर्ने कुरामा जोड दिनुभयो ।
कूटनीतिक प्रयासहरूका बावजुद, तेहरान र वासिङ्टन बीचको बढ्दो तनाव र यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिको वृद्धिको बीचमा उनका यी टिप्पणीहरू आएका हुन् । (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)












