काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले संसदमा विचाराधीन विधेयकहरूमा प्रतिपक्षले प्रश्तुत गरेका रचनात्मक संशोधनहरूलाई सरकारले सकारात्मक रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित ‘संस्कृतिमा काली–कर्णाली’ दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रमुख सचेतक महरले हाल संघीय संसदमा चलचित्र विधेयक र बौद्धिक सम्पती सम्बन्धी विधेयक विचाराधीन रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा आएको चलचित्र विधेयकका सम्बन्धमा प्रतिपक्षका तर्फबाट विभिन्न संशोधनहरू दर्ता गरिएको उल्लेख गर्दै उहाँले सरकारले प्रतिपक्षका कुरा सुन्दा कमजोर भइने पुरातन मानसिकता त्याग्नुपर्ने बताउनु भयो । उहाँले सरकारसँग स्पष्ट बहुमत रहेकाले प्रतिपक्षका रचनात्मक कुराहरू समेट्दैमा सरकार कमजोर नहुने तर्क समेत गर्नुभयो ।
उहाँले विशेषगरी बौद्धिक सम्पती सम्बन्धी विधेयकमा आफूले महत्वपूर्ण संशोधन प्रश्ताव राखेको जानकारी दिनुभयो । सुदूरपश्चिमको खस भाषा र संस्कृतिको संरक्षणका साथै यसलाई राष्ट्रको मूल भाषा र संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने उहाँको माग छ । खस संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न आफूले थप अध्ययन र गृहकार्य गरिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘यहाँ सबैलाई जानकारी नै छ, यस सन्दर्भका दुईवटा विधेयक अहिले संसद्मा विचाराधीन छन् । एउटा चलचित्र विधेयक हो । त्यो राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको छ र त्यस विधेयकका सन्दर्भमा छलफल पनि भइरहेको छ । हामीले त्यसमा केही संशोधन पनि दर्ता गरेका छौँ । यद्यपि त्यसमा कति कुरा समेट्न सकिएला, नसकिएला, त्यो बेग्लै कुरा हो । संसद्मा अन्ततः सङ्ख्याले असर गर्छ । त्यहाँ एउटा जडता के छ भने प्रतिपक्षले ल्याएका कुरा सरकारले सुन्दैन । म सरकार पक्षीय साथीहरूलाई धेरैपटक भन्ने गर्छु–‘हामी त नयाँ हौँ, क्रमभङ्ग गर्नुपर्छ’ भन्नुहुन्छ । म भन्छु, सही कुरामा क्रमभङ्ग गर्नुस् । स्थापित मान्यता, परम्परा र सकारात्मक अभ्यासमा क्रमभङ्ग गरेर कसैको बहादुरी देखिँदैन । क्रमभङ्ग त त्यहाँ गर्नुस्, जहाँ प्रतिपक्षका राम्रा कुरा पनि स्वीकार गरिन्छन् । पहिलेदेखिको एउटा जडता के छ भने सरकारले प्रतिपक्षका कुरा सुन्दैन । प्रतिपक्षका संशोधन स्वीकार गरियो भने सरकार कमजोर हुन्छ भन्ने जुन बुझाइ छ, त्यसलाई च्यातिदिनुस् । तपाईंहरूको १८२ जनाको बहुमत छ । चाहेको कुरा पारित गर्न सक्नुहुन्छ । त्यसो हुँदा कसरी सरकार कमजोर हुन्छ ? कि आफ्नै निर्णयप्रति विश्वास छैन भन्नुप¥यो । त्यसैले जे कुरा सही छन्, रचनात्मक छन्, आवश्यक छन् र सान्दर्भिक छन् भने प्रतिपक्षका कुरा पनि स्वीकार गर्नुस् भनेर हामीले बारम्बार भनिरहेका हुन्छौँ । तर त्यो व्यवहारमा देखिँदैन । त्यसका बाबजुद पनि समितिमा दफावार छलफल भइरहेको छ । अर्को विधेयक बौद्धिक सम्पदासम्बन्धी हो । त्यसअन्तर्गत भाषा, साहित्य र कला पनि पर्छन् । यसका सन्दर्भमा मैले केही संशोधन प्रश्ताव गरेको छु । संशोधनभन्दा पनि दुईवटा विषय थपिनुपर्ने भनेर उल्लेख गरेको छु । विशेषगरी सुदूरपश्चिमको भाषा र संस्कृति, अर्थात खस भाषा र संस्कृतिको संरक्षण गर्ने व्यवस्था हुनुपर्छ । साथै यसलाई राष्ट्रिय पहिचान दिएर यो राष्ट्रको मूल भाषा र मूल संस्कृति हो भन्ने विषयलाई स्थापित गर्नुपर्छ भन्ने मेरो प्रश्ताव छ । यस विषयमा अझ थप अध्ययन गरेर यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने योजना पनि रहेको छ ।’
हाल संसदीय समितिहरूमा ती विधेयकहरूमाथि दफावार छलफल जारी रहेको र यस प्रक्रियामा सरकारले लचकता देखाउनुपर्नेमा उहाँको जोड छ । –न्युज एजेन्सी नेपाल












