काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तुल्सीपुरमा राजा वीरेन्द्रको शालिक माथी चढेर रास्वपाका कार्यकर्ताहरुले दुर्व्यवहार गरेको आरोप लगाएको छ ।
रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा रास्वपा कार्यकर्ताहरुले शालिकमाथि चढेर प्रदर्शन गरेका थिए ।
राप्रपा प्रदेश सचिव राजेन्द्र अधिकारीले एक बिज्ञप्ति जारी गर्दे शालिक माथीको दुर्व्यवहार को घोर भर्त्सना एवं खेद प्रकट गर्नुभएको छ ।
बिज्ञप्तिमा भनिएको छ –
रास्वपाका अध्यक्ष रवि लामिछानेको दाङ जिल्ला आगमनको समयमा दाङ जिल्लाको तुलसीपुर नगर पालिकाको बिरन्द्र चौकमा रास्वपाका कार्यकर्ताहरूले राजा वीरेन्द्रको शालिक माथि उभिएर गरिएको अपमानपूर्ण र अभद्र व्यवहारप्रति राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । र राप्रपा लुम्बिनी प्रदेश यो कार्यको घोर भर्त्सना एवं खेद प्रकट गर्दछ ।
कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सह्य हुँदैन । त्यसर्थ यो गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न आग्रह गर्दछौं । साथै यस्तो घटना फेरि नदोहोरिने प्रतिबद्धता गर्नहुन समेत आग्रह गर्दछौं ।
निर्वाचनमा मतदाताले निर्भीक मतदान गर्न सक्ने वातावरण बनाउनु सबै जिम्मेवार पार्टीको दायित्व हुन्छ । त्यसर्थ स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरूलाई समेत आग्रह गर्दछौं । धन्यवाद ।
राजेन्द्र अधिकारी
प्रदेश सचिव












