२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला राष्ट्रिय लिगमा आर्मी र संकटाको रबाफिलो जित



अ+ अ-

काठमाडौँ। चार विदेशी खेलाडीको साथमा संकटा र विभागीय टोली त्रिभूवन आर्मी क्लवले एन्फा शहीद स्मारक महिला लिगमा सुखद् शुरुवात गरेको छ ।

ललितपुरस्थित च्यासल स्टेडियममा बुधवारदेखि भएको महिला लिगमा संकटा र आर्मीले फराकिलो जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेका हुन् ।

पहिलो खेलमा संकटाले छिमेकी क्लव न्युरोड टिम (एनआरटी) माथि ४–० को रबाफिलो जित आत्मसात गर्यो । संकटाको जितमा चारमध्ये तीन गोल विदेशी खेलाडीले गरे ।

म्यानमारकी विन थेइङ्गी तुन, मोजाम्बिककी लुसिया जोस र घानाकी क्विनाबेल अकुसुआले गोल गरे । एक गोल सुक्रिया मियाले गरेकी हुन् । विदेशी खेलाडी चम्किएपछि संकटा पूर्ण हाबी भयो । अर्को खेलमा विभागीय टोली आर्मीले झापा एफसीमाथि ५–० को एकपक्षीय जित निकाल्यो ।

आर्मीका अञ्जना थुलुङ राईले दुई तथा दीपा शाही, हिमा चौधरी र तुलसा बोहोराले समान एक गोल गरे । झापाले चुनौती दिने प्रयास गरे पनि सफल भएन । झापाले खेलको ५६ औं मिनेटसम्म आर्मीलाई रोकेको थियो । तर, त्यसपछि थकित देखिएको झापाले एकपछि अर्को गोल बेहेर्यो। झापाले खेल अवधिभर एउटा पनि राम्रो अवसर सिर्जना गर्न सकेन ।

यद्यपि, सुरुआतमा झापाको रक्षात्मक रणनीति आर्मीका लागि चुनौती बन्यो । यसले खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । आर्मीको एकपछि अर्को अवसर सिर्जना अफसाइड ट्य्रापमा पर्यो । आर्मीका प्रशिक्षक राजु तामाङले दोस्रो हाफमा रणनीति परिवर्तन गरे ।

उनले चन्द्रा भण्डारीको स्थानमा तुलसा बोहारा र विमला चौधरीको स्थानमा सपना लामालाई मैदान प्रवेश गराए । यसपछि आर्मीले बल पोसेसन राख्दै झापामाथि लगातार दबाब बनाउन थाल्यो । ५७औं मिनेटमा दीपाको गोलबाट आर्मीले अग्रता लिन सफल भयो ।

मध्य भागबाट दीपा राईले दिएको पास सदुपयोग गर्दै दीपाले अग्रता दिलाएकी हुन् । उनले करिव १५ यार्डबाट झापाकी गोलकिपर सुजता तामाङ अगाडि बढेको अवस्थामा बललाई जाली चुमाइन् । यो गोलपछि झापा दबाबमा पर्यो। यसको फाइदा उठाउँदै आर्मीले दोस्रो गोल गर्यो ।

६८औैं मिनेटमा हिमाले गोल गर्दै आर्मीलाई २–० ले अगाडि बढाइन् । थ्रो बललाई सदुपयोग गर्दै उनले पेनाल्टी बक्सभित्रबाट गोल गरेकी हुन् ।
अन्तिम १० मिनेट झापाको डिफेन्स लाइन निकै खराब रह्यो । यस क्रममा आर्मीले तीन गोल थप्यो । ८०औं मिनेटमा जेनिफर रानाको स्थानमा अञ्जना थुलुङ राई मैदान प्रवेश गरिन् । अञ्जनाले आफ्नो प्रभाव छाड्दै दुई गोल गर्न सफल भइन् । ८६ औं मिनेटमा अञ्जनाले गोल गर्र्दै आर्मीलाई ३–० ले अगाडि बढाइन् ।

लेफ्ट साइडबाट दीपा शाहीले दिएको क्रस सदुपयोग गर्दै अञ्जनाले वान टचमार्पmत बललाई जाली चुमाएकी हुन् । ९० औं मिनेटमा झापाका गोलकिपर सुजताको गल्तीमा आर्मीले चौथो गोल व्यहोर्यो। सञ्जु कुमालको थ्रु बल नियन्त्रणमा लिँदै अञ्जनाको फितलो प्रहार सुजताले हातबाट फुत्काइन् ।

इन्जुरी समयमा तुलसाले गोल गर्दै आर्मीलाई ५–० को जित दिलाइन् । यससँगै झापाले फराकिलो हारबाट लिगको शुरुवात गर्यो ।
बुधवारदेखि च्यासल रंगशालामा सुरु भएको लिगमा तीन विभागीय टोलीसहित कुल ९ क्लवले प्रतिष्पर्धा गर्दैछन् । घरेलु प्रतियोगितामा सबैभन्दा बलियो दाबेदार रहँदै आएको एपिएफ डिफेन्डिङ च्याम्पियन हो ।

तर यसपल्ट एपिएफलाई अन्य दुई विभागीय टोली नेपाल पुलिस, आर्मी र संकटाले चुनौती दिन सक्ने अनुमान गरिएको छ । वैशाख १२ गतेसम्म सञ्चालन हुने लिग सिंगल राउन्ड रोबिन पद्धतिमा हुँदै छ ।

एन्फाले सुरुवातमा १० टोली सहभागी हुने उल्लेख गरेको थियो । वालिङ नगरपालिकाले आर्थिक कारण देखाउँदै नाम फिर्ता लिएपछि एन्फाले राप्ती एफसीलाई समावेश गर्ने निर्णय गरेको थियो ।

तर, अन्तिम समयमा अन्य क्लबहरूको विरोधपछि राप्तीलाई अयोग्य ठहर गर्दै लिगमा ९ टोली मात्र सहभागी गराइएको हो । एन्फाले यस प्रतियोगिताको पुरस्कार रकमबारे भने जानकारी दिएको छैन । –न्युज एजेन्सी नेपाल