८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच



अ+ अ-

दाङ । दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् ।

सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ । उहाँको घरमा करिब एक महिनाअघि मात्र विद्युत्को सेवा पुगेको उहाँले बताउनुभयो । “पहिले अँध्यारोमा बस्नुपथ्र्यो । बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपथ्र्यो”, उहाँले भन्नुभयोे, “अहिले घरमा बत्ती बल्दा सहज भएको छ ।”

उहाँका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० मिनेट टाढाको गाउँ जानुपर्ने बाध्यता थियो । गाउँमा विद्युत् पुगेपछि अहिले त्यो समस्या अन्त्य भएको छ । घरमा कोही बिरामी पर्दा रातिको समयमा उज्यालोको व्यवस्था गर्न कठिन हुने गरेको थियो । एकपटक बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको दिन अझै सम्झनामा छ ।

उपमहानगरपालिकाभित्र बसोबास गरे पनि आधारभूत सेवा नपाउँदा आफूहरू उपेक्षित महसुस गर्दै आएको उहाँको गुनासो छ । स्थानीयहरूका अनुसार विद्युत् सेवा नहुँदा साना व्यवसाय सञ्चालन गर्न पनि असहज थियो । मिल, सिलाइकटाइ, कम्प्युटर सेवा, वेल्डिङजस्ता काम सम्भव थिएनन् । अब भने केही सहज भएको छ । युवाहरूले गाउँमै केही गर्न सक्ने वातावरण बन्दै गएको स्थानीयको भनाइ छ ।

घोराही–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाका सबै बस्तीमा विद्युत् सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो । यसका लागि आफू लागिपरेको उहाँले बताउनुभयो । आफू निर्वाचित भएपछि २०७९ सालमा रु तीन करोड ६७ लाख लागतमा ठेक्का आह्वान गरी विद्युतीकरणको काम सुरु गरेको उहाँ बताउनुहुन्छ ।

त्यसअघि प्रयास गरिए पनि सार्थकता पाउन सकेको थिएन । बाँकी रहेका ठाउँमा विद्युत् पुर्याउन २०८० सालको अन्त्यतिर पुनः अर्को ठेक्का प्रक्रियामार्फत कामलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । तर ठेक्दार कम्पनीले समयमा काम नगर्दा योजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । नागरिकको घरमा छिटो विद्युत् पुर्याउने आफूहरूको योजनामा यसले समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ ।

उहाँका अनुसार सैघामा धेरै बस्तीमा बिजुली बलेको छ तर लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरलगायत बस्तीमा अझै सेवा पुग्न सकेको छैन । ती क्षेत्रमा काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको उहाँले बतानुभयो ।

स्थानीयको अपेक्षा भने अब विद्युत्सँगै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेछ । यस वडा पहाडी क्षेत्र भएकाले सडक, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समेत सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ । रासस