काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयअन्तर्गतका सम्पूर्ण महाशाखाहरूको समग्र अवस्था, हालसम्मको प्रगति तथा विद्यमान चुनौतीहरूको विषयमा स्थलगत अनुगमन तथा विस्तृत समीक्षा गरेका छन्।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सम्बन्धित निकायलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन स्पष्ट निर्देशन समेत दिएका छन्।
त्यसैगरी, मन्त्रीले राष्ट्रको ऊर्जा विकास, जलस्रोतको दिगो तथा प्रभावकारी उपयोग र सिँचाइ प्रणालीको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक समृद्धिमा योगदान पुर्याउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्रालयका कार्यसम्पादनलाई समयसापेक्ष, उत्तरदायी र नतिजामुखी बनाउँदै दीर्घकालीन विकास लक्ष्य हासिल गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।











