२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट



अ+ अ-

चितवन। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ ।

यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरी, उक्त परीक्षामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन् ।  यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसियामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले सात÷आठ पटक  परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा दुई पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक रहेको देखिन्छ । काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ ।

यसै सन्दर्भमा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरको मानकका रुपमा लिइने काउन्सिलको यस वर्षको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको सिएमसीको उत्पादन गर्व गर्न लायक रहेको बताउनुभयो ।

कुशल व्यवस्थापनसहित सिएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वाेत्कृष्ट हुन सफल भएको स्पष्ट गर्दै उपनिर्देशक कोइरालाले भन्नुभयो, “आउँदा दिनमा शत्प्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने छौँ । स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा ‘सिएमसी’ पर्नेगरी सम्पूर्ण टिम परिचालित हुनेछ ।”

सिएमसी कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । उहाँले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिमसी कलेज परेको स्पष्ट गर्नुभयो ।

सो कलेजमा स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब), बिएस्सी एमआइटी (रेडियोग्राफी) को पढाइ हुने गरेको छ । यसैगरी, स्नातकोत्तर तहमा एमडी÷एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडी÷एमसिएचको पढाइ हुने सो कलेजले जनाएको छ । सो क्याम्पसमा अहिले विभिन्न विधा र तहमा गरी एक हजार ४०० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ । रासस