काठमाडाैँ । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र बनाउने संकल्प गरेको छ। पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ले सदस्यता नवीकरणदेखि संगठन सुदृढीकरणसम्मका विभिन्न विषयमा १० बुँदे संकल्प प्रस्ताव पारित गरेको हो।
कार्यशालाले पार्टीको संगठित सदस्यता अनलाइन प्रणालीमार्फत सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब नवीकरण गर्ने घोषणा गरेको छ। साथै, प्रत्येक संगठित सदस्यले न्यूनतम तीन जना नयाँ सदस्य तयार गर्ने संकल्प पनि गरिएको छ।
संकल्प प्रस्तावमा गत प्रतिनिधिसभा निर्वाचनमा मत परिवर्तन गरेका मतदातालाई पुनः पार्टीमा सक्रिय बनाउन आह्वान गरिएको छ भने ‘ठिक समय एमाले समय’ नारालाई व्यवहारमा उतार्दै हरेक कार्यक्रम समयमै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यशालाले विज्ञान तथा प्रविधि र सामाजिक सञ्जालको उपयोगमार्फत पार्टी जीवनलाई डिजिटल रूपान्तरण गर्ने, सदस्यता नवीकरण अभियानलाई टोलदेखि केन्द्रसम्म विस्तार गर्दै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, जनसंगठनलाई समुदायका मुद्दासँग जोडेर पुनर्गठन गर्ने, नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने तथा पार्टी आबद्ध परिवारका छोराछोरीको सम्मेलन आयोजना गर्ने घोषणा गरिएको छ।
कार्यशालाले उपत्यका तथा भूगोलमा पार्टी संगठनलाई प्रभावकारी बनाउन केन्द्रीय सम्पर्क समन्वय समितिको भूमिका सशक्त बनाउने तथा प्रवासमा रहेका युवाहरूलाई अनलाइन माध्यममार्फत निरन्तर सम्पर्कमा राखी उनीहरूको अनुभव र दक्षताको उपयोग गर्ने रणनीति लिने संकल्प गरेको छ।
यसैबीच, कार्यशालाले सहभागी नेता, कार्यकर्ता तथा व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ। स्वास्थ्य प्रतिकूलताका बाबजुद पार्टी अध्यक्षको सम्बोधन, उपाध्यक्ष, महासचिव तथा अधिकांश पदाधिकारीको उपस्थितिलाई कार्यशालाले विशेष महत्व दिएको छ।
केन्द्रीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले छोटो तयारीका बीच सफलतापूर्वक कार्यशाला सम्पन्न गर्न सहयोग गर्ने पार्टी केन्द्रीय कार्यालय, प्राविधिक टोली, विभागका सदस्य तथा सम्पूर्ण सहयोगीप्रति कृतज्ञता व्यक्त गरेका छन्।












