३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा मनाउँदै ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गर्नुभएको छ ।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याएको छ भने यसको स्वरूपलाई लिएर विवाद पनि चर्किएको छ ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) का चर्चित खेलाडीहरू ‘द क्लो’ नामक विशाल अखाडामा प्रतिस्पर्धा गर्दैछन् । करिब छ करोड डलर लागतको यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको भए पनि राष्ट्रपति ट्रम्पको ८०औँ जन्मदिनसँग संयोगवश जुधेको छ ।

कार्यक्रमलाई लिएर आलोचना पनि भइरहेको छ । आलोचकहरूले इरानसँग तनाव र युद्धको अवस्था जारी रहेका बेला ह्वाइट हाउसको ऐतिहासिक परिसरमा हिंसात्मक खेल आयोजना गर्नु अनुपयुक्त भएको टिप्पणी गरेका छन् ।

उनीहरूका अनुसार युद्धका कारण विश्व बजारमा मूल्यवृद्धि भइरहेका बेला यस्तो प्रदर्शनले गलत सन्देश दिन सक्छ । यद्यपि राष्ट्रपति ट्रम्पले कार्यक्रमको खुलेर समर्थन गर्नुभएको छ । मे महिनामा ओभल अफिसमा युएफसी खेलाडीहरूसँग भेटघाटका क्रममा उहाँले यसलाई दर्शकका लागि अविस्मरणीय अनुभव हुने बताउनुभएको थियो ।

ह्वाइट हाउसका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले नै व्यहोरेको छ । युएफसीका प्रमुख सामग्री अधिकारी क्रेग बोर्सारीले खेल र राजनीतिलाई जोडिएको आरोप अस्वीकार गर्दै यो अमेरिकी खेलाडी र राष्ट्रको उत्सव भएको बताउनुभयो । कार्यक्रमलाई अझ विशेष बनाउन केही खेलाडीहरू ऐतिहासिक ओभल अफिसबाट बाहिर निस्केर साउथ लनस्थित अखाडासम्म पुग्ने व्यवस्था गरिएको छ ।

आठ कोण भएको तारजालीयुक्त पिँजडा अर्थात् अष्टभुजभित्र हुने प्रतिस्पर्धा हेर्न चार हजारभन्दा बढी दर्शकका लागि सिटको व्यवस्था गरिएको छ । प्रतिस्पर्धामा सहभागी युएफसी लडाकू माइकल च्यान्डलरले यसलाई लडाइँ खेलकुद इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता बताउनुभयो । फ्रान्सेली लडाकू सिरिल गेनले पनि आफू राजनीतिभन्दा खेलमा केन्द्रित रहेको उल्लेख गर्दै विश्वसामु खेल प्रस्तुत गर्ने अवसर महत्त्वपूर्ण भएको धारणा राख्नुभयो । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार समारोहमा ऐतिहासिक झलक प्रस्तुत गर्ने विशेष कार्यक्रम, सैन्य ब्यान्ड, सैन्य विमानको उडान प्रदर्शन, प्यारासुट प्रदर्शन तथा अन्त्यमा १० मिनेट लामो आतशबाजी हुनेछ ।

यस कार्यक्रमलाई रोक्न स्थानीय बासिन्दाले अदालतमा दायर गरेको निवेदन शुक्रबार अस्वीकृत भइसकेको छ । त्यससँगै कार्यक्रम आयोजना गर्ने कानूनी अवरोध पनि हटेको छ । ट्रम्पको जन्मदिनसँग जोडिएको यो कार्यक्रमले वासिङ्टनको ठूलो क्षेत्र प्रभावित बनाएको छ । लिङ्कन मेमोरियल नजिक खेलाडीहरूको तौल मापन गरिएको छ भने नेशनल मल क्षेत्रमा विशाल पर्दामार्फत करिब एक लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । यसबीच राष्ट्रपति ट्रम्पको उमेर र स्वास्थ्यबारे पनि बहस जारी छ ।

उहाँले प्रायः आफ्नो सक्रियतालाई पूर्वराष्ट्रपति जो बाइडेनसँग तुलना गर्ने गर्नुभएको छ । यद्यपि ट्रम्प स्वयं पनि हातको चोट, खुट्टाको शिरासम्बन्धी समस्या तथा सार्वजनिक कार्यक्रममा थकान देखिएको विषयमा चर्चामा रहनुभएको छ । तर उहाँका चिकित्सकले राष्ट्रपति उत्कृष्ट स्वास्थ्य अवस्थामा रहेको बताएका छन् । हालै सार्वजनिक एक भिडियोमा ट्रम्पले ८० वर्ष पुगेकोमा आफू पूर्ण रूपमा खुसी नभएको स्वीकार गर्दै ‘यो मलाई मनपर्ने सङ्ख्या होइन, तर म यहाँ छु’ भन्नुभएको थियो ।

विश्लेषकहरूका अनुसार रियालिटी टेलिभिजनको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका ट्रम्पले सार्वजनिक प्रदर्शन र भव्य कार्यक्रमलाई आफ्नो राजनीतिक शैलीको महत्त्वपूर्ण हिस्सा बनाउँदै आउनुभएको छ । जर्ज वासिङ्टन विश्वविद्यालयका सञ्चारविद् पिटर लोगेका अनुसार ट्रम्पले राष्ट्रपतिको भूमिकालाई पनि आफ्नो पूर्व सार्वजनिक जीवनकै शैलीमा प्रस्तुत गरिरहनुभएको छ ।

गत वर्ष आफ्नो जन्मदिनका अवसरमा ट्रम्पले अमेरिकी सेनाको २५०औँ वार्षिकोत्सवसँग सम्बन्धित भव्य सैन्य परेडको निरीक्षण गर्नुभएको थियो । यस वर्ष भने उहाँको जन्मदिन खेल, शक्ति प्रदर्शन र राष्ट्रिय उत्सवको मिश्रित स्वरूपका कारण थप चर्चामा आएको छ ।