काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले नै जनताको जल्दाबल्दा समस्या समाधानका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाकी सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण समेत गराउनु भयो ।
उहाँले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने रोड, यसले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनु पर्दछ । तर त्यहाँबाट आधा घण्टामा बिर्तामोड आई पुगिन्छ । हामीले यस्तो किसिमको एकदमै रिष्कमा परेका, चुनौतिपूर्ण एउटा योजना पनि नपरेको देख्दाखेरी म छक्कै परेको छु । त्यसले गर्दा यहाँ हाम्रो पूर्वाधार मन्त्रीज्यू, त्यस्तै गरेर अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु ।’
सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । खेतीको समयमा किसानले मलको अभाव व्यहोर्दा पनि सरकारले उक्त समस्या समाधानका लागि चासो दिन नसकेको उहाँको गुनासो थियो । सांसद खनालले रसायनिक मलको वितरण पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो,‘ किसानहरु खेतीपातीको महत्वपूर्ण समयमा रसायनिक मलको अभावले दिनरातै छटपटाईरहेका छन । उहाँहरुको समस्या कसले बुझिदिने ? सभामुख महोदय । नेपालमा हाल ६० देखि ९१ प्रतिशत श्रम शक्ति कृषि क्षेत्रमा रहेको विभिन्न तथ्यांकहरुले देखाउँदछ । यस्तो अवस्थामा धान रोपाईंको मुख्य समयमा किसानले मल नपाउनु निकै दुखद विषय हो । मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य सुरक्षामा नै असर पर्न जाने अवस्था सृजना भएको छ । त्यर्सैले सभामुख महोदयमार्फत गोर्खा जिल्ला लगायत सबै ठाउँमा मलको आपूर्ति सुनिश्चित गरियोस् ।’
सांसद विश्वराज पोखरेलले बाँदन नियन्त्रणका लागि विशेष खालको कार्यक्रम ल्याउन सरकारलाई दवाव दिनुभयो । उहाँले ओखलढुंगा जिल्ला अस्पतालमा उचित उपचारको व्यवस्था नहुँदा नागरिकले अकालले ज्यान गुमाउनेपरेकोतर्फ पनि सरकारको ध्यानकर्षण गराउनु भयो ।
सांसद पोखरेलले भन्नुभयो, ‘जिल्ला अस्पताल ओखलढुंगामा उचित उपचार नहु्ँदा त्यहाँका नागरिकले अकालमा ज्यान गुमाउन परेको पीडाले पोल्ने गरेको छ । त्यसका लागि आवश्यक उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैगरी बाँदर आतंकबाट नागरिक ठूलो पीडामा परेका छ । यसको नियन्त्रण नहुने हो भने पूरै बस्ती खाली हुने अवस्थामा छ । त्यसैले बाँदर नियन्त्रणमा सरकारले विशेष ध्यान देओस् भनि सभामुखमार्फत सरकारसँग अनुसार गर्दछु ।’
सांसद पोखरेलको नागरिक मौलिक हकको सुनिश्चित गर्न पनि सरकारसँग माग गर्नुभयो ।












