काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले बुधबार केहीबेरअघि सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।
रास्वपाको संशोधित विधानअनुसार पार्टीमा कुल १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। यसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनयन गर्ने प्रावधान छ। साथै, सातै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्।
उता, महाधिवेशनअन्तर्गत बुधबार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली तथा अन्य प्राविधिक प्रक्रिया टुंग्याइरहेको जनाएको छ।
चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ।












