१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभाः विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु



अ+ अ-

कर्णाली। कर्णाली प्रदेशसभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बिहीबार बसेको १४औँ बैठकमा सभामुख नन्दा गुरुङले असार ११ गतेदेखि १४ गतेसम्म विषयगत मन्त्रालयको शीर्षकहरूमाथि छलफल सुरु भएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत विनियोजन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले वडा तथा पालिका योजना प्राथमिकतामा नपरेको धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य इन्दिरा शाहीले वैज्ञानिक भूउपयोग नीतिलाई कार्यान्वयनमा लैजानुपर्ने विषयलाई सरकारलाई सुझाउँदै परम्परागत, निर्वाहमुखी अवस्थाबाट कृषिलाई आजको आवश्यक प्रविधिसँग जोडेर अगाडि बढ्न आग्रह गर्नुभयो । बजेट विनियोजन भए पनि कार्यान्वयनको अभावले आवश्यक पूर्वाधारका संररचना बन्न नसकेको उहाँको भनाइ थियो ।

प्र्रदेशसभा सदस्य रनसिंह परियारले बजेटले पशुपालन, दुग्ध विकास, उत्पादन र उत्पादकत्व बढाउने सकरात्मक कार्यक्रम ल्याएको बताउनुभयो । यद्यपि, विगतका कार्यक्रमको निरन्तरता भएको टिप्पणी गर्दै उहाँले ठोस योजना ल्याएर युवाहरूलाई कृषितर्फ आकर्षण गर्ने कार्यक्रम लागू गर्न सरकारलाई अनुरोध गर्नुभयो ।

त्यस्तै, सदस्य कलबहादुर हमालले रैथाने बाली, बगैँचा व्यवस्थापन, उद्यमशीलता, युवा स्वरोजगारलगायतका कार्यक्रम आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकारको प्रमुख जोड हुनुपर्ने धारणा राख्नुभयो ।

आज १२ गते भौतिक पूर्वाधार तथा सहरी विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय, १३ गते सामाजिक विकास तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, १४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश योजना आयोग र मुख्य न्यायधिवक्ताको कार्यालयका शीर्षकहरुमाथि छलफल हुने सभामुख गुरुङले बताउनुभयो । रासस