काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले केहीबेरमा सुरु हुँदैछ । अहिले ११ः०० बजे बस्ने बैठकमा विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्तावहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ सदनसमक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यसैगरी, आजै विभिन्न नयाँ विधेयकहरू सदनमा दर्ता र छलफलका लागि प्रस्तुत गरिने कार्यसूची छ । कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक सदनमा पेस गर्नु हुनेछ ।
यसैगरी, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उहाँले नै प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।












