२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी बुहारीलाई परिचयपत्र प्रस्ताव



अ+ अ-

काठमाडौँ । सांसदहरूले नेपालीसँग बिहे गरेका विदेशी महिलालाई तत्काल अंगीकृत नागरिकता नदिने अडान नछाडेपछि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नयाँ विकल्प प्रस्ताव गरेको छ ।

त्यस्ता महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने, त्यसअघि राजनीतिकबाहेक सबै अधिकारसहितको विशेष परिचयपत्र व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।

समितिमा बिहीबार भएको छलफलमा बहुमत सांसद उक्त प्रस्तावमा नरम देखिएका छन् । ‘परिचयपत्र, अस्थायी नागरिकता वा यस्तै कुनै नाम दिएर सरकारले जारी गर्ने पत्र अंगीकृत नागरिकता पाउने महिलालाई दिने व्यवस्था गरिने सम्भावना छ,’ एक सांसदले भने । नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयकमा अंगीकृत नागरिकतासम्बन्धी प्रावधानमा एक वर्षभन्दा बढी समयदेखि विवाद छ ।

सांसदले विदेशी महिलालाई विवाहलगत्तै नागरिकता दिनु मुलुकको हितविपरीत हुने धारणा राख्दै आएका छन् । समस्या समाधानका लागि नेकपा सांसद विजय सुब्बाको संयोजकत्वमा उपसमिति बनाए पनि हल गर्न सकेन । उपसमितिले पनि निकासबिनाकै प्रतिवेदन पेस गरेपछि समितिमा फेरि छलफल सुरु भएको हो ।

सरकारले प्रस्ताव गरेको विधेयकमा त्यस्ता विदेशी महिलाले तत्कालै नागरिकता पाउने व्यवस्था गरिएको छ तर त्यस्तो नागरिकता पाएको ६ महिनाभित्र आफ्नो देशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्ने उल्लेख छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सबैजसो दलका सांसदले यो प्रावधानमा सहमति जनाएका छन् । नेकपाका सांसदहरू भने विभाजित छन् ।

कांग्रेसले बैठकमा सरकारको थप धारणा नआएसम्म आफ्नो प्रस्ताव नल्याउने बताएको छ । ‘विधेयकमा गरेकै प्रस्ताव ठिक हो कि अरू केही छ, सरकारको धारणा आउनुपर्छ,’ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने । समिति सभापति शशी श्रेष्ठले छलफलको अन्त्यमा गरेको ‘राजनीतिकबाहेक सबै अधिकार दिएर ७ वर्षपछि नागरिकता पाउने विषयमा तपाईंहरू सहमत हुनुहुन्छ’ भन्ने प्रश्नमा धेरै सांसद मौन थिए ।

समाजवादी पार्टीका रामसहायप्रसाद यादवले भने त्यस्तो प्रस्तावमा असहमति जनाए । उनले बाबु थाहा नभए नेपाली आमाको स्वघोषणाका आधारमा सन्तानको वंशज नागरिकता बन्ने प्रावधान स्मरण गराउँदै विदेशी महिलाका हकमा पनि सोही व्यहोरा राख्नुपर्ने बताए । उनले भने, ‘तत्काल नागरिकता दिँदा के असर पर्छ, सरकारले त्यस विषयमा धारणा राख्नुपर्छ,’ उनले भने ।

समितिमा जनाइएअनुसार उक्त परिचयपत्र अध्ययन, बैंक खाता, सरकारी सेवालगायत सबै ठाउँमा मान्य हुने खालको हुनेछ तर मतदान गर्ने, उम्मेदवार हुने र राजनीतिक नियुक्तिमा रोक लगाउने सहमति हुन सक्ने एक सांसदले बताए ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले अंगीकृत नागरिकता दिने भारतको कानुन जे भए पनि विवाह गरेर गएकी नेपाली चेलीलाई तत्कालै सरकारी जागिर, मतदान, उम्मेदवारीलगायत सबै अधिकार हुने गरेको बताए । सांसद नवराज सिलवालले सामाजिक र सांस्कृतिक अधिकार दिनुपर्ने तर विवाहलगत्तै नेता बन्ने अवस्था आउन नहुने बताए ।

गृहसचिव प्रेमकुमार राईले नेपाली चेली विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिन नसकिने बताएका छन् । सांसदले समान हक हुनुपर्ने भन्दै त्यस्ता पुरुषलाई पनि नागरिकता दिन माग गर्दा उनले यस्तो जवाफ दिएका हुन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।