२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पढ्न नगएर बालुवा चाल्छन् बालबालिका



अ+ अ-

सल्यान । जिल्लाको बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुला निवासी १० वर्षीया पिमी पुन दिनभरि बालुवा चाल्नबाट फुर्सद पाउँदिनन्। स्कुल गएर पढ्ने, खेल्ने उमेरमा बालुवा चालेर दैनिक गुजारा गर्नु उनको बाध्यता हो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनका बुवा रोजगारीका लागि भारतमा गएका छन्। बुवा घरमा नभएपछि आमाले मात्र दैनिक ज्याला मजदुरी गरेको पैसाले घरखर्च नचलेपछि उनी पनि बालुवा चालेर पैसा कमाउन थालेकी हुन्।

आफूले बालुवा चालेर कमाएको पैसा उनका तीन जना भाइबहिनीको पालनपोषणमा खर्च गर्ने गरेको पिमीको भनाइ छ। ‘स्कुल पढ्न त मन थियो, तर के गर्नु पढाउने कोही छैन, बालुवा चाल्दै भाइबहिनीको धरालो लाग्नुपर्छ,’ उनले भनिन्, ‘मेरो दुई बहिनी पढ्छन्, तर मैले कान्छो भाइको हेरचाह गर्र्नुपर्ने भएकाले स्कुल जान पाउँदिन।’

पिमी जस्तै जिल्लाका सयौं विपन्न परिवारका बालबालिका अध्ययन अध्ययापनको पहँुचभन्दा बाहिर छन्। कतिपय बालबालिकाले बालुवा बोकेर कापीकलमको जोहो गर्छन् भने कतिपयले विद्यालयको मुखसम्म देख्न पाउँदैनन्। विशेष गरी शारदा नगरपालिका–१ भगवतीखोला र बनगाडकुपण्डिे नगरपालिकाका अधिकांश बालबालिकाले विद्यालय जान पाउँदैनन।

निःशुल्क पढ्न पाउनुपर्ने बाल अधिकार संविधानमा किटान गरिएको भए पनि सल्यानका बालबालिकालाई यसले छोएको छैन।

बनगाडको नवज्योति आधारभूत विद्यालय, ज्यामिरे अँधेरी र महादेव आधारभूत विद्यालय ज्यामिरेमा अध्ययनरत दर्जनौं बालबालिका विद्यालय समयपछि कुपिण्डेतालको बगरमा बालुवा चाल्छन्। अन्धेरीकी ११ वर्षीया विमला बूढाले कापीकलमको जोहो गरी स्कुल पढ्नकै लागि बालुवा चाल्ने गरेको बताइन्। ‘बिदाको समयमा कुपिण्डेदह आएर बालुवा बोक्ने, चाल्ने काम गर्छौं, त्यसबाट आएको दुईरचार सय रुपैयाँले कापीकलम किनेर स्कुल जान्छौं,’ उनले भनिन्।

सोही ठाउँका १६ वर्षीय चन्द्र पुन मगरले कुपिण्डेदहको बगरबाट बालुवा बोक्न थालेको तीन वर्ष भयो। ‘अहिलेसम्म विद्यालय गएको छैन। म सानै छँदा बाबा बित्नुभयो,’ उनले भने, ‘आमा काम गर्न नसक्ने भएपछि घरखर्च धान्न बालुवा चाल्छु।’ उनका अनुसार बालुवा बेचेर दैनिक पाँच सय रुपैयाँ जति हुने आम्दानीले घरखर्च चल्दै आएको छ।

ज्यामिरेमा कक्षा ६ अध्ययनरत निर्मला थापा र नवज्योती माविको कक्षा ७ मा पढ्दै आएका १४ वर्षीय संयोग बूढामगर पनि बालुवा बेचेरै पढाइको खर्च जोहो गरी विद्यालय जान्छन्। यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीय हस्तबहादुर यरीले बताए। बजारक्षेत्रमा आवश्यक पर्ने अधिकांश बालुवा बालबालिकाले बोक्ने गरेको उनको भनाइ छ।

निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरिएको भए पनि, सरकारले समेत बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन भर्ना कार्यक्रम सञ्चालन गरे पनि सल्यानलाई छुन सकेका छैनन्। यता बनगाडकुपिण्डे नगरप्रमुख गोविन्दकुमार पुनले अभिभावकहरूकै असहयोगका कारण बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कठिन भएको दाबी गरे।

विद्यालय नआएर बालुवा बोक्दै घरखर्च चलाउने बालबालिकाका विषयमा सम्बन्धित सबै निकायले छलफल गरी समस्या समाधानतर्फ सबै लाग्नुपर्ने उनको भनाइ छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।