२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाबहिल-साँखु सडक दसैंसम्ममा पिच नभए ठेक्का तोडिने



अ+ अ-

काठमाडौं । चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्ममा पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ। सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन्। यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो। तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन। सडक विस्तारका क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो।

चाबहिल–साँखु १२.४ किलोमिटर खण्डलाई चार प्याकेजमा ठेक्का लगाइएको थियो। ठेक्का लगाइएको चार वर्ष बित्दा पनि काम लथालिङ छ। पानी पर्दा हिलो र घाम लाग्दा धूलोका कारण यो सडक प्रयोग गर्ने यात्रु आजित छन्।

बालबच्चालाई विद्यालय लैजान, बिरामी पर्दा आकस्मिक सवारीसाधान बोलाउन र दैनिक काममा पनि सडक बाधक बन्ने गरेको छ। तोकिएको क्षेत्रफलमा विस्तार गर्दा सडक आसपासका अधिकांश घर भत्काउनु पथ्र्यो। स्थानीयको अवरोध र ठेकेदारको ढिलासुस्तीले सडक पिच हुन सकेको थिएन। सडक २२ मिटरमै विस्तार गर्ने गरी डिजाइन गरिएको थियो। तोकिएभन्दा कम क्षेत्रफलमा सडक विस्तार गर्न ठेकेदार तयार थिएन। सरकारले साइट क्लियर नगरेको भन्दै निर्माण व्यवसायीले काम अघि बढाएका थिएनन्।

सरकार, स्थानीय र ठेकेदारबीचको विवादले दुई वर्षसम्म विस्तार प्रक्रिया निकै सुस्त गतिमा थियो। यसैबीच सडक विस्तारका नाममा जनतालाई सुकुम्बासी बनाउन नहुने भन्दै स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। यी कारणले पनि विस्तारको काम सुस्त बनेको हो। २०७४ असोजमा अदालतले स्थानीयलाई उचित मुआब्जा दिएर सडक विस्तार गर्न निर्देशन दिएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७५ साउन १० गते उपलब्ध जग्गामा सडक विस्तार अघि बढाउन स्वीकृति प्रदान गरेको थियो। मन्त्रालयको यो निर्णसँगै सडक विस्तारले गतिलिने धेरैले अपेक्षा गरेका थिए। तर, उपलब्धमा क्षेत्रमा सडक पिच गर्ने निर्णय गरेको एक वर्ष बित्दा पनि विस्तारको काम सकिएको छैन। पछिल्लो समय खानेपानीको पाइप, ढल, वर्षाका कारणले काम हुने नसकेको ठेकेदार र विभाग भनाइ छ।

‘चाबहिल–जोरपाटी सडकमा ढलको समस्या छ। पुराना ढल फुटेकाले सडक पिच गर्न सकिएको थिएन। यस वर्ष अघिल्ला वर्षभन्दा धेरै पानी परेको छ’, महानिर्देशक शर्माले भने, ‘पानीले पनि दुःख दिइरहेको छ। ढल र खानेपानीको समस्या समाधान भइसकेको छ।’ वर्षा कम भएसँगै सडक विस्तारले तीव्रता पाउने उनको भनाइ छ।

चाबहिल–चुच्चेपाटीमा महांकाल खानेपानीको पाइपलाइन लिकेज भएर समस्या आएको हो। त्यो पाइप विभागले नै हटाउने गरी भदौ १ गते ठेक्का निकालिसकेको छ। ढल र खानेपानीको समस्या हल भइसकेकाले दसैंसम्म पिच गर्न ठेकेदारलाई निर्देशन दिइसकेको उनले बताए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।