काठमाडौं । काठमाडौं नयाँ बजार सोह्रखुट्टेबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु (बन्दकर्ता) हरुलाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुले सडकमा टायर बालेर बन्दलाई सकृय बनाईरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बन्दकर्ताहरुले बन्द सफल पार्रौ भन्दै नाराबाजी गर्दै सडकमा टायर बालेका थिए । प्रहरीले बन्दकर्ताहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी समेत भएको छ भने कयौंलाई नियन्त्रणमा समेत लिएको छ ।
पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको थियो । बिहानको समयमा सडकमा कम सवारीसाधन देखिए पनि अहिले भने काठमाडौंमा सवारीको चाप बढ्दै गइरहेको छ । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।












