५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा चार विधेयक पेश



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश गर्नुभयो ।

‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले आन्तरिक कारणले मात्र नभई कहिलेकाहीँ बाह्य कारणबाट राजधानीको सुरक्षा संवेदनशील हुने गरेकाले राजधानीको सुरक्षा केन्द्र मातहत राख्ने गरी विधेयक संशोधन गरिएको बताउनुभयो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र कहिलेकाहीँ अस्वभाविक सुरक्षाका चुनौतीलाई बहन गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “उपत्यकाभित्रको सुरक्षा पनि प्रदेश प्रहरीको समन्वयमा सङ्घीय प्रहरीले लिन्छ ।” उपत्यकाको सुरक्षा जिम्मा सङ्घीय प्रहरीले गर्ने भन्दैमा सरकारलाई सङ्घीयता विरोधीका रुपमा चित्रित गर्न नहुने बताउनुभयो । उहाँले नेपाल प्रहरीसँग भएको क्षमता, विशेषज्ञतालाई उपयोग गर्न सकियोस् भनेर विधेयक ल्याइएको भन्दै प्रदेश प्रहरीलाई कमजोर नबनाइने बताउनुभयो ।

‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले प्रज्वलनशील पदार्थको आक्रमण रोक्न आवश्यक भएकाले ऐन संशोधनको प्रस्ताव गरिएको बताउनुभयो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदलाई राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम यही असार २९ गते अपराह्न २ बजेभित्र संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गर्नुभयो ।

त्यसअघि राष्ट्रियसभाले सांसद अनिता देवकोटा प्रस्तावक तथा गङ्गाकुमारी बेलबासे र जयन्तीदेवी राई समर्थक रहेको विधेयकमाथिको संशोधनको सूचनासम्बन्धी प्रावधान निलम्बनको प्रस्ताव स्वीकृति गरेको थियो । प्रस्तावमा विशेष कारणवश ‘विधेयकमा संशोधनको सूचनासम्बन्धी प्रावधान’ उक्त विधेयकका हकमा लागू गर्न नसकिने भएकाले आज अपराह्न २ देखि भोलि अपराह्न २ बजेसम्म कायम रहने गरी नियम निलम्बन गरिने उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १०६ को उपनियम (१) बमोजिमको ७२ घन्टाको संशोधनको अवधिलाई छोट्याइ २४ घन्टा कामय गर्न सकिने व्यवस्था छ । राष्ट्रियसभाको अर्को बैठक यही असार ३० गते बिहीबार बिहान ११ बजे बस्नेछ ।