२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा अतिक्रमित जग्गाको लगत सङ्कलन सुरु



अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक र अतिक्रमण भएका जग्गाको लगत सङ्कलन कार्य सुरुआत गरेको छ ।

नगरप्रमुख प्रशान्त विष्टले ३० दिने सूचना जारी गरेर अतिक्रमण भएका जग्गा खाली गराइने र सार्वजनिक जग्गाको संरक्षण गरिने जानकारी दिनुभयो । “सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उहाँले भन्नुभयो । प्रमुख विष्टले लगत सङ्कलन तत्काल सुरु भए पनि यसको कार्यान्वयन हुन करिब तीन महिनाको समय लाग्ने जनाउँदै नक्सा पास नभई निर्माण भएका घरको समेत अध्ययन हुने बताउनुभयो ।

“पालिकाभित्र धेरै ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण भएकाले त्यस्ता जग्गा कति छन् त्यसको खोजी गरेर लगत निकालिने छ”, उहाँले भन्नुभयो । उहाँले कसैको डर र प्रभावमा नपरी सार्वजनिक जग्गाको अतिक्रमण हटाइनेमा जोड दिँदै सर्वदलीय सहमतिसमेत जुटाइने बताउनुभयो । पालिकासँग सार्वजनिक जग्गाको विषयमा तथ्याङ्क छैन ।

नेपालगञ्जको त्रिवेणी मोड नजिकै ३५ धुर क्षेत्रफलको सरकारी जग्गा व्यक्तिको नाममा लैजान खोजिएको प्रयास असफल बनाउँदै पुनः जग्गा फिर्ता ल्याइएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो । उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आउनभन्दा पहिले केही महिनाअघि कार्यपालिकाको बैठकको निर्णयका आधारमा जग्गामा निर्माण भएका भौतिक संरचनाको भाडासमेत व्यक्तिगतरुपमा उठाउन पाउने निर्णय भएकोमा त्यसलाई फिर्ता गरी सरकारी सम्पत्तिको संरक्षण गरिएको उहाँले बताउनुभयो ।

सो स्थानमा ३४ व्यवसायीले रु दुई हजार पाँचसय भाडा बुझाउँदै आएका छन् । यसअघि व्यवसायीले उपमहानगरपालिकालाई मासिक भाडा बुझाउँदै आएकोमा कार्यपालिकाको निर्णयपछि गत पुसदेखि भाडा नबुझाएका व्यवसायी सम्पर्कमा आएका छन् । “समयमै उपमहानगरपालिका चनाखो नबन्ने हो भने धेरै सार्वजनिक सम्पत्तिको कब्जामा जानेछ”, उहाँले भन्नुभयो ।

उहाँले नगरका धेरै सरकारी कित्ता कब्जामा रहेको उल्लेख गर्दै त्यसको अध्ययन अघि बढाइएको बताउनुभयो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले यहाँ रहेका फुटपाथ पसल खाली गराउन थालेको छ । फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमा साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किङ गर्ने कामलाई निरुत्साहित गर्न अब नियमितरुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख विष्टले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका अगाडिको क्षेत्र, विपी चोक, इदगाहरोड, त्रिभुवनचोक, त्रिभुवनचोक उत्तरतर्फको सदरलाइन, त्रिभुवन चोकको पूर्व लाइन हुँदै तरकारी मण्डीसम्मको सडकपेटी खाली गराइएको थियो ।