२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तकलाजन्य प्रदर्शनीमा पर्यटकको आकर्षण



अ+ अ-

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा हस्तकला कपडा, झोला, गरगहना, धातु तथा माटाका सामग्रीले डबली क्षेत्र शोभायमान देखिएको छ ।

काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र पर्यटन प्रवद्र्धन सङ्घको आयोजनामा आज आयोजित एक दिवसीय हस्तकला प्रदर्शनीले त्यस क्षेत्रमा पर्यटकको थप आकर्षण बढेको हो । नेपाल हस्तकला महासङ्घ आवद्ध सङ्घ, संस्था, उद्यमीको सहभागिता रहेको कार्यक्रमको काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले परम्परागत कला, संस्कृतिका साथै मौलिक हस्तकला उत्पादनमा पनि नेपाल अग्र स्थानमा रहेको बताउनुभयो ।

स्वदेशी उत्पादनलाई विश्व बजारमा फैलाउन गुणस्तरीय वस्तु उत्पादन र प्रवद्र्धको खाँचो औँल्याउनुभयो । धातुकला, पश्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका स्वदेशी उत्पादन भारत, चीन, संयुक्त राज्य अमेरिका, युरोप, जापान, क्यानडालगायत मुलुकमा माग भइरहेका छन् । विदेशीको रोजाइँमा पनि हस्तकला तथा तानजन्य सामग्री परेका छन् ।

मुलुकमा देखा परेको व्यापारघाटा न्यूनीकरणका लागि नेपाली हस्तकला क्षेत्रले केही योगदान गरेको छ । धातुजन्य वस्तुका मूर्तिलगायत अन्य सामान कालीगढले हातले कुदेर बनाइरहेका छन् ।

ललितपुरका माणिकमान शाक्यले धातुका पातालाईभित्र बाहिर दुबै तर्फबाट च्यापेर कलाकृति बनाइरहेको दृश्यले प्रदर्शनी हेर्न आउने जो कोहीलाई पनि मनोरञ्जनयुक्त बनाएको छ । प्राचीनकालदेखि नै प्रयोगमा रहेको यस्तो कला कौशल सिपालु र अनुभवी कालीगढले मात्र पूरा गर्न सक्छन् । लिच्छिवीकालीन समयदेखि धार्मिक एवं सांस्कृतिक क्षेत्रमा यस्तो कलाको प्रयोग सुरुआत भएको शाक्यले बताउनुभयो ।

उहाँले प्रविधिको विकासक्रमसँगै साँचोमा राखेर धेरै वस्तु उत्पादन हुन थालेको विशुद्ध हातले बनाउने यो कला निर्माण जटिल बन्दै गएकामा चिन्ता गर्नुभयो । सरकारले हस्तकलाको विकासका लागि कुनै नीति ल्याउन नसकेको अहिलेको अवस्थामा स्थानीय तहले उद्यमीलाई कच्चापदार्थ लगायतका विषयमा छुट दिने तथा उत्पादनमा न्यून कर लगाउनुपर्ने उहाँको भनाइ छ ।

प्रदर्शनीमा माटाका सामग्री बनाउन विदेशीले पनि सिकिरहेका छन् । यसको प्रवद्र्धनका लागि सम्बन्धित पक्षलाई आवश्यक सहुलितको नीतिगत व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ । हस्तकला नीति बनाउँदा व्यवसाय प्रवद्र्धन र उत्पादित सामग्री प्रचार, बजारीकरणमा ध्यान दिनुपर्ने मेलाका संयोजक डिल्लीरत्न तुलाधरले बताउनुभयो ।

यस क्षेत्रले घरपरिवारको आयआर्जनमा सहयोग पुग्ने र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउने भए पनि मुलुकभित्र साधनस्रोतको अभाव रहेको तुलाधरको भनाइ छ । नेपाल हस्तकला महासङ्घले देश तथा विदेशमासमेत हस्तकला व्यापार मेला गरेर केही प्रचार गरिरहेको छ । व्यवसायका लागि आवश्यकपर्ने दक्षजनशक्ति पनि न्यून रहेकाले उनीहरुलाई तालिमलगायत उत्पे्ररणाको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

यस क्षेत्रले करिब १० लाख मानिसलाई रोजगारी दिइरहेको र वस्तु निर्यात गरी वैदेशिक मुद्रा सञ्चित गरेको जनाइएको छ । स्वदेशमा हस्तकलाको माग करिब रु। १० अर्ब बराबरको छ । करिब रु। १५ अर्बको निर्यात हुने गरेको छ । हस्तकला नेपाललाई विश्व परिवेशमा विशिष्ट पहिचान गराउने क्षेत्र हो । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान यस क्षेत्रको छ । ग्रामीण भेग तथा बेरोजगार युवालाई सीप सिकाएर उत्पादन वृद्धि गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ । विभिन्न जातजाति तथा समुदायले सजिएको मुलुकमा उनीहरूको जातीय मौलिक हस्तकला छन् । तिनीहरूको सीप प्रवद्र्धन पनि उत्तीकै जरुरी छ ।

बैंक तथा वित्तीय संस्थाले यस्ता उद्योगको स्थापना तथा विकासका लागि कर्जा प्रवाह गर्नुपर्ने तुलाधरको सुझाव छ । हस्तकलाको विकास र विस्तार गर्न सकेमा गरिबी निवारणमा पनि सहयोग पुग्ने र समृद्धिका सम्भावना वृद्धि हुने व्यवसायीको भनाइ छ । रासस




भर्खरै