२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा



अ+ अ-

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्को स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो ।

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ । गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन् । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् ।

अहिले स्थानीय रुपलाल बुढा मगरले कटुवालको काम गरिरहनुभएको छ । गाउँलेहरुबाट आफुले यो जिम्मेवारी पाएको पाँच वर्ष भएको रुपलालको भनाई छ । चार वर्षमा कटुवाल फेर्ने गाउँलेको नीति भए पनि रुपलाल फेरि दोहोरिनु भएको छ । उहाँको काम चर्को स्वरमा कुर्लिएर ९हाँको हाल्ने० सूचना प्रवाह गर्ने हो । रुपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरु हुँदा गाउँलेलाई सूचना पु¥याउने काम गर्दै आएको बताउनुहुन्छ । गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमहरुको सूचना दिनको लागि अग्लो स्थानमा गएर हाँको हालेपछि गाउँलेहरु सोही सूचनाको आधारमा कार्यक्रम, बैठक, सभाहरुमा सहभागी हुने गरेको उहाँको भनाई छ । “यो चलन त परम्परादेखि चल्दै आएको हो, गाउँलेले हटाउन सकेका छैनन्, मेरो काम गाउँमा केही कार्यक्रम भयो भने सूचना दिने हो” रुपलालले भन्नुभयो ।

उहाँले तमान गाउँमा तीन सय ७४ घरधुरीका नागरिकलाई सूचना दिँदै आएको बताउनुभयो । सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पु¥याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको रुपलाल बताउनुहुन्छ ।

“गाउँ ठूलो छ, एक ठाउँबाट कुर्लिएर सबैले सूचना पाउन सक्दैनन्, सूचना पाएनन् भने फेरि कार्यक्रममा जाँदैनन्, उनीहरुले सूचना नपाएपछि मलाई कारबाही हुन्छ” रुपलालले भन्नुभयो “त्यही भएर गाउँको देउराली डाँडा, किरी, हिले डाँडामा गएर हाँको हाल्छु, गाउँलाई सूचना दिनु राम्रो काम हो सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा खुसी छु ।”

तमान गाउँमा कटुवाल मात्रै होइन, मुखिया प्रथा पनि कायमै छ । अहिले गाउँमा एक जना मुखिया हुनुहुन्छ । गाउँलेले स्थानीय ललित घर्ती मगरलाई मुखिया बनाएका छन् । मुखियाले दिएको आदेश अनुसार रुपलालले गाउँलेलाई सूचना दिने काम गर्नुहुन्छ । मुखिया मातहत नै कटुवालले काम गर्नु पर्ने स्थानीयको नियम छ ।

कटुवालले वर्षभरि सूचना प्रवाह गरेबापत एक घरबाट दुई सय रुपैयाँ प्राप्त गर्ने गर्छन् । तीन सय ७४ घरधुरी रहेको तमान गाउँबाट रुपलालले हरेक वर्ष ७४ हजार आठ सय रुपैयाँ कमाउने गरेको बताउनुहुन्छ । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरु कामसमेत गर्न सकिने उहाँको भनाई छ ।

“कटुवाल काम गर्न धेरै कठिन छैन, यो काम सधैँ पनि हुँदैन, बेला मौकामा मात्रै हो, अरु समयमा घरबारीको काम पनि गर्छु, जनताको सेवाको रुपमा लिएको छु मैले यो कामलाई” उहाँले भन्नुभयो “गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखिनै हुँदै आएको हो मैले सुरु गरेको होइन ।”

स्थानीय कृष्ण बुढाथोकीले परम्परादेखि चल्दै आएका चलनहरुलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । उहाँले यस्ता परम्परा मौलिक संस्कृतिसँग जोडिएको भन्दै आधुनिकताले निकै ठूलो प्रभाव पारेको बताउननुभयो ।

मुखियालाई पनि मान्छन् गाउँले

तमान गाउँमा अहिले पनि मुखिया प्रथा कायमै छ । अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर हुनुहुन्छ । उहाँले तमान गाउँका तीन सय ७४ घरधुरीलाई नेतृत्व प्रदान गरिरहनुभएको छ । गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको काम घर्तीले गर्नुहुन्छ ।

मुखियाको काम र भूमिकाका हिसाबले अहिलेका जनप्रतिनिधि जस्तै भए पनि आफूले कुनै पनि सेवा सुविधा नपाउने घर्तीको भनाई छ । परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरुले यसलाई निरन्तरता दिएको भन्दै आफूको कार्यकालसमेत सकिन थालेको बताउनुभयो । आफ्नो कार्याकाल चार वर्षको हुने उहाँको भनाई छ ।

“गाउँमा जति पनि चलन छन्, त्यो सबै हाम्रा पाका पुर्खाहरुदेखि नै चल्दै आएका हुन्, हामीहरुले त्यसको निरन्तरता दिएको हो, गाउँमा हुने विशेष कामहरु, पूजाआजा, कार्यक्रम हुँदा सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौं,” मुखिया घर्तीले भन्नुभयो “मुखियाले गाउँको नेतृत्व गर्ने हो, अहिलेको वडा अध्यक्ष जस्तै हो, तर मुखियाले कुनै पनि सेवा सुविधा लिदैनन्, समाज सेवानै हो ।”

घर्तीभन्दा अगाडि तमान गाउँको मुखिया जितेन्द्र रोका हुनुहुन्थ्यो । उहाँको मृत्यु भएपछि घर्ती मुखियामा चुनिनुभएको हो । अहिले उहाँले दुई कार्यकाल चलाउँदै हुनुहुन्छ । पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको उहाँको भनाई छ ।

स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय गरेर काम गरेको उहाँले बताउनुभयो । “स्थानीय सरकार नआउँदा गाउँको काम सबै मुखियाले गथ्र्यो, गर्नुपथ्र्यो, अहिले जनप्रतिनिधि आएपछि उनीहरुसँग सहकार्य गरेर काम गर्छौँ, उहाँहरुलाई पनि सहज, हामीलाई पनि सहज भएको छ, जसरी पनि समाज परिवर्तन गर्ने हो” उहाँले भन्नुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँमा अहिले पनि पुराना प्रथाहरु कायम रहनुले परम्पराको संरक्षण भएको बताउनुभयो । मुखिया र कटुवाल दुवै प्रथा समाज परिवर्तनका लागि चल्दै आएको हुँदा अहिले जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्दा सहज भएको उहाँ बताउनुहुन्छ ।

“परम्परादेखि नै आएका यस्ता चलनहरुले हामीलाई सहज भएको छ, मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप गर्दैनन्, हामीहरुले गर्ने कतिपय कामहरु उहाँहरुले गर्दै आउनुभएको थियो, अहिले हामीहरुसँग सहकार्य गरेर काम गर्नुहुन्छ, यसले गाउँलेको सेवा पनि भएको छ, परम्पराको संरक्षण पनि” अध्यक्ष बुढा मगरले भन्नुभयो । रासस
–––