२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा यस वर्ष धान उत्पादन बढ्ने



फाईल फोटो
अ+ अ-

भरतपुर । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ ।

केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो ।

“सरकारले समयमा रासायनिक मल दिन नसके पनि किसानहरुले भारतसँगको खुला सिमानाका कारण विभिन्न माध्यामबाट मल ल्याउनुभयो”, उहाँले भन्नुभयो, “हाम्रो स्थलगत निरीक्षणमा पनि उत्पादन राम्रो देखिएको छ । चितवनमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्छ । चितवनलाई धान उत्पादनको भण्डार मानिन्छ । यहाँका अधिकांश किसानले यस वर्ष सावित्री, राम धान ९वार० र सावा धान लगाएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धानको उत्पादन राम्रो छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुनेमा पर्छन् । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुँदै आएको छ । यस्तै माडी क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गरेको छ ।

चितवनमा यस वर्ष मात्रै एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत् सिँचाइ उपलब्ध गराइएको थियो । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो ।

आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा सिँचाइका लागि ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उहाँले बताउनुभयो ।

चितवनमा ३० हजार पाँच सय हेक्टरमा धान खेती गरिएको छ । जसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खे धान र सात हजार पाँच सय ७३ हेक्टरमा चैते धान लगाउने गरिएको छ । चैते धान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ ।

पश्चिम चितवनको चनौलीका किसान सोमप्रसाद चालिसेले यस वर्ष समयमै मल नपाए पनि राम्रो धान फलेको बताउनुभयो । उहाँले एक विघा क्षेत्रफलमा फलेको धान दुई दिन लगाएर काटिसक्नु भएको छ भने अब धान उठाउने र थ्रेसर लगाउने तयारीमा हुनुहुन्छ ।

भरतपुर महानगरपालिका ११ का किसान गंगाप्रसाद आचार्यले गत वर्षभन्दा यस वर्ष खेतमा राम्रो धान फलेको बताउनुभयो । उहाँले आइतबार मात्रै आफ्नो सात कठ्ठा जमिनको धानमा थ्रेसर लगाउनुभयो ।

“गत वर्ष १८ बोरा धान भित्राएको थिएँ, यसबर्ष २२ बोरा धान उत्पादन भएको छ”, उहाँले भन्नुभयो ।