२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोचक बन्दै काठमाडौँ क्षेत्र नं ८ को निर्वाचन



अ+ अ-

काठमाडौं । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा काठमाडौँ ८ मा सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ हुनुहुन्छ । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजाअनुसार सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले चार, नेकपा (एमाले)ले दुई, राप्रपाले एक र नेकपा (एकीकृत समाजवादी) एकमा विजयी भएका छन् ।

सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी) र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

आगामी निर्वाचनमा श्रेष्ठ र एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा स्वतन्त्रबाट सुमन सायमीउम्मेदवार हुनुहुन्छ । उहाँले गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुखमा १३ हजार सात सय ७० मत प्राप्त गर्नुभएको थियो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ बाग्मती प्रदेशको निवर्तमान प्रदेशसभा सदस्य पनि हुनुहुन्थ्यो ।

विसं २०७४ निर्वाचनमा जीवनरामले कांग्रेसका स्व नवीन्द्रराज जोशीलाई १३ हजार तीन सय ९७ मत ल्याएर चार सय ४४ को मतान्तरले पराजित गर्नुभएको थियो । श्रेष्ठसँग प्रतिस्पर्धा गरेका जोशीको गत वर्ष निधन भएको हो ।

गत वैशाखमा भएको स्थानीय तहको निवार्चनको मतको परिणाम केलाउँदा पनि एमालेभन्दा कांग्रेस तीन हजार छ सय ४३ मतले अगाडि छ ।

आठ वडामा कांग्रेसका वडाध्यक्षले कुल आठ हजार सात सय १६ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीले तीन हजार ७४ मत र राप्रपाले एक हजार पाँच सय ३९ मत प्राप्त गरेका थिए । कांग्रेस र एकीकृत समाजवादीले वडामा ११ हजार सात सय ९० मत प्राप्त गरेका छन् । सो मत गणना गर्दा पनि एमालेभन्दा गठबन्धन छ हजार सात सय १७ मतले अगाडि छ । विसं २०७४ को मत परिणाम र स्थानीय तहको निर्वाचनलाई हेर्दा सो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ ।

कुल ५३ हजार एक सय छ मतदाता रहेको सो क्षेत्रमा २३ मतदानस्थल र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस