२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व



अ+ अ-

काठमाडौं । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।

भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।

चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए ।

ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा ट्र्याक्टर समातिएको श्रेष्ठले बताए ।

कारबाहीका लागि पठाइएका यस्ता सवारीसाधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ । गतवर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ ।  सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

चालू आव २०७८/७९ को शुरूआतसँगै यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही तीव्र पारिएको छ । कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ । यो समाचारआर्थिक अभियान दैनिकमा छ ।