पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मस्तिष्कघात भई काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उहाँ उपचाररत हुनुहुन्छ ।
पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गरिनेछ ।
शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । शुरुमा मेयर सचिवालयले हृदयघात भनेर सूचना प्रवाह गरे पनि मणिपालमा मस्तिष्कघात भएको पुष्टि भएको थियो ।
मणिपाल शिक्षण अस्पतालमा प्राथमिक उपचारपछि शुक्रबार दिउँसो हेलीकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
मेयर जिसीको स्वास्थ्यअवस्था अहिले सुधारोन्मुख अवस्थामा रहेको सचिवालयले जनाएको छ ।












