२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार चुहावट नियन्त्रण गर्न उपप्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभयो ।

भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो ।

उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै उहाँले बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराउनुभयो । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तदअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्सार चुहावट नियन्त्रण गर्न कडाइका साथ लाग्नसमेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो । प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

भन्सार प्रशासनले सम्पादन गर्ने प्रमुख कार्यका रुपमा रहेको व्यापार सहजीकरण, राजस्व सङ्कलन र सामाजिक हित संरक्षणका दायित्वलाई प्राथमिकतामा राखी अवैध व्यापार र चोरी निकासी पैठारीबाट हुनसक्ने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो ।

उहाँले भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने एवं राजस्व चुहावट नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो ।

अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले विभिन्न चरणमा अगाडि बढाएको भन्सार सुधार तथा आधुनिकीकरणका रणनीति तथा कार्ययोजनाको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गर्दै व्यापार सहजीकरण र राजस्व सङ्कलन गरी राष्ट्र निर्माणका लागि आवश्यकपर्ने स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न आग्रह गर्नुभयो ।

राजस्व सचिव डा रामप्रसाद घिमिरेले भन्सार प्रशासनमा रहेका कमीकमजोरी तत्काल हटाउने र राजस्व चुहावटको दृष्टिले जोखिमयुक्त क्षेत्र र क्रियाकलापमा निगरानी बढाउन तथा कानुनविपरीतका कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार कार्यालयको संस्थागत सुधारका लागि सरकारले निर्धारण गरेको नीति, विधि र कानुनअनुसार कार्यसम्पादन भइरहेको बताउनुभयो । विभागले समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन, अवैध व्यापारको निगरानी गर्ने तथा चोरी पैठारीबाट हुने चुहावट नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायसँगको समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस