२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार



प्रतिकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । यस पटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो तर, अघिल्ला वर्षहरुमा झै यस वर्ष व्यापारीहरुले न्यानो कपडाको व्यापार गर्न पाएका छैनन् । यो वर्ष हिउँदे जाडोको सुरुदेखि नै व्यापार बढ्न नसक्दा महाबौद्ध र गुच्चा टोलका व्यापारीहरु फुर्सदिला देखिन्छन् ।

काठमाडौंको महाबौद्धमा विगत २७ वर्षदेखि कपडाको थोक व्यापार गर्दैआएका व्यापारी अशोक प्रधानले सरकारले कपडाको मूल्य बढाइदिएकाले पनि व्यापार बढ्न नसकेको बताउनुहुन्छ । “कपडाको मूल्य बढाइएकाले पनि खरिद गर्ने ग्राहकहरु यो वर्ष घट्न पुग्यो”, उहाँले भन्नुभयो । कोभिड–१९ को महामारीले दुई वर्षसम्म व्यापार थिलथिलो भयो । यस्तैमा सरकारले उल्टै कर बढाइ दिएपछि यस वर्ष सोचेजस्तो कपडाको व्यापार गर्न नसकेको कपडा व्यापारीहरुको धारणा छ ।

“चीनको केरुङ नाकाबाट सामान ल्याउँदा बढी समय लाग्यो । त्यसले पनि सिजनमा ब्यापार गर्न नसक्ने अवस्था हामीलाई आइलाग्यो”, उहाँले भन्नुभयो – “उत्तरका नाका लामो समय बन्द भएकाले हामीले समुद्रको बाटोबाट सामान ल्याउने गरेको छौँ जसका कारण हाम्रो ढुवानी खर्च बढी हुन गयो । त्यसकारण पनि सामान महङ्गोमा बेच्नु परेको छ ।”

सरकारबाट कर बढाइनु, उत्तरी नाका लामो समयदेखि नखुल्नु जस्ता कारण ग्राहकलाई मार पर्न गएको उहाँको भनाइ छ । उहाँका अनुसार नेपालभित्रै पनि तयारी पोशाक कारखानाहरु धेरै खुलेका छन् । चीन र भारतबाट ल्याइने प्रकृतिकै सामान यहाँ पनि उत्पादन हुने गर्छ । त्यसो भएर पनि हिजोआज चीनबाट आयातित कपडा बिक्न छाडेको हो ।

केही वर्षअघिसम्म कपडा मात्रै हैन अन्य चिनियाँ सामान पनि नेपाल हुँदै भारतका सिलिगुडी, दार्जिलिङ र सिक्किमसम्म जाने गथ्र्यो । पछिल्लो समय ती सामान चीनबाट सिधै भारत जान थालेपछि नेपालको व्यापार क्रमशः सुक्न थालेको प्रधानले जानकारी दिनुभयो । चीनबाट थान थान कपडा ल्याएर नेपालमै तयार गरी बजारमा पठाउन थालेपछि तयारी कपडाको व्यापार खस्कन थालेको उहाँको अनुभव छ ।

काठमाडौंकै गुच्चा टोलमा व्यापार गर्दै आउनुभएकी ३४ वर्षीया मिना सिग्देलले पनि पहिलेको तुलनामा आधा व्यापार घटेको अनुभव सुनाउनुुभयो । बालेन्द्र साह काठमाडौंको मेयर चुनिएपछि फुटपाथमा व्यापार गर्न रोक लाग्यो । फुटपाथमा सामान फैलाएर बेच्ने व्यापारीले सामान किन्न छाड्दा थोक व्यापारीहरुको बिक्री घट्न गयो ।

उहाँका अनुसार फुटपाथ व्यापारीले सालिन्दा २० प्रतिशतसम्म सामान किन्ने गरेका थिए । “पछिल्लो समय फुटपाथमा व्यापार गर्न बन्देज लागेपछि हाम्रो व्यापारलाई पनि असर परेको छ”, सिग्देलले भन्नुुभयो । महाबौद्धमै थोक व्यापार गर्दै आएका विनेश घिमिरे सबैको नभए पनि केही केही व्यापारीको राम्रै व्यापार भइरहेको बताउनुहुन्छ ।

कोभिड महामारीअघि व्यापारीहरु सिधै चीन पुगेर गुणस्तरीय सामान ल्याउने गर्थे तर, कोभिड महामारीका कारण उनीहरुले चीन गएर सामान ल्याउन सकेका छैनन् । अहिलेसम्म पनि त्यस्तो वातावरण बन्न नसक्दा व्यापारीहरुले राम्रो सामान ल्याउन नसकेको उहाँले बताउनुभयो ।

राम्रा सामान नआएकै कारण नबिकेको तर्क घिमिरेको छ । ठूला लगानीकर्ताले ठाउँ ठाउँमा मान्छे राख्ने गरेकाले चीनबाट सामान छानेर सजिलै नेपाल ल्याउने गरेको उहाँको भनाइ छ । “ठूला व्यापारीले अहिले पनि गतिलो फाइदा लिइरहेका छन्”, उहाँले भन्नुभयो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि हिउँदे याममा धेरै चिसो नहुँदा न्यानो कपडाको व्यापारमा कमी आएको बुझाइ केही व्यापारीको छ । पछिल्लो समय बैंकले पनि ऋण सजिलोसँग नदिने गरेका कारण सामान कतिपय व्यापारीले बाहिरबाट सामान झिकाउन नसकेको बताइन्छ । रासस