२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यमाघसम्म हिउँ न वर्षा



अ+ अ-

गण्डकी । “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन ।

गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताउनुभयो । हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उहाँको भनाइ छ ।

घरपझोङ–२ मार्फाका दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गर्नुभयो । “चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उहाँले भन्नुभयो, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिनुपर्ने अवस्था छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उहाँको भनाइ छ ।

थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षा नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन प्रभावित भएको छ । लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो । “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, उहाँले सुनाउनुभयो ।

चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताउनुभयो । “स्याउको फूल फुल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उहाँले भन्नुभयो ।

जाँै, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको बस्ताकोटीले बताउनुभयो । “माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, उहाँले भन्नुभयो, “यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ ।”

पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उहाँले सुनाउनुभयो । मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन ।

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताउनुभयो । “बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ”, उहाँले भन्नुभयो ।

बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँले उल्लेख गर्नुभयो । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उहाँको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताउनुभयो । आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उहाँको भनाइ छ ।

“गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था छ”, उहाँले भन्नुभयो, “यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन ।” हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ ।

“यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भन्नुभयो । रासस




भर्खरै