२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन



अ+ अ-

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो ।

महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रुपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथमा विशेष पूजा सकेर उहाँले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुनेछ । यो मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो ।

मन्दिर उद्घाटनपछि उहाँले त्यहीँ प्रवचन पनि गर्नुहुनेछ । बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शङ्कराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ ।

महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रुपमा आउनुभएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ ।

पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवं प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ । केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ । रासस