२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७९ वार्षिक पत्रिका र (विसं १८७२–२००७) नेपाली सेनाको इतिहास’को विमोचन गर्नुभयो । उहाँले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनाई र दोस्रो हुने सेनानी टेकबहादुर कार्कीलाई पुरस्कार प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारीले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्नुहुने भारतीय र बेलायती सेनामा कार्यरत गोर्खा ब्याण्ड समूहका प्रमुखलाई उपहार प्रदान गर्नुभयो ।

यसअघि सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरियो । सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे समारोहमा उपस्थित हुनुहुन्थ्यो । समारोहमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो । समारोहमा भारतीय सेनाका पाँच पूवप्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभयो । रासस

तस्बिरः रत्न श्रेष्ठ, प्रदीपराज वन्त/रासस




भर्खरै