काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार पनि दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस जारी रहने छ । सोमबार नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी पनि छ । रिट निवेदक तर्फबाट सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गरेपछि अब जवाफी बहसका लागि २ घण्टा २ मिनेट मात्र बाँकी समय छ ।
जवाफी बहस सकिएपछि एमिकस क्युरीले दुई घण्टा समयमा स्वतन्त्र राय दिनेछन् । एमिकस क्युरीका लागि संवैधानिक इजलासले सो समय छुट्याएको हो । सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई/दुई जना एमिकस क्युरी छनोट गरिएको छ ।
एमिकस क्युरीमा बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई राखिएको छ । त्यस्तै एमिकस क्युरीले राय प्रस्तुत गरेपछि संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ । रिटहरुमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।












