काठमाडौं । आज (सोमबार) वाग्मती प्रदेशसभाको बैठक बस्दै छ । प्रदेशसभाको बैठक दिउँसो एक बजे बस्न लागेको हो । हिजो (आइतबार) अपराह्न तीन बजे बस्ने भनिए पनि विशेष कारण देखाउँदै आज (सोमबार) दिउँसो सम्मका लागि सारिएको थियो ।
आजको बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने भएको छ । यता विपक्षी दलहरुले भने विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । त्यसैको सन्दर्भमा हिजो (आइतबार) हेटौंडामा सर्वदलीय बैठक समेत बसेको थियो ।
बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।












